बेथितिको अन्त्य गर



मुलुकमा जब–जब चाडबाड नजिक आउँछ तब–तब तस्करहरु सलबलाउन थाल्छन् । नेपालीहरुको चाडबाड नजिकिएसँगै मुठ्ठीभरका व्यक्तिहरु सलबलाउँदै नेपालीको ढाड सेक्न अनेक प्रपञ्च रच्ने गरेको पाइन्छ । सरकारले चाडबाड आउन थालेपछि अनुगमन गर्ने गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा आम नेपाली मारमा पर्ने गरेका छन् । राज्यशक्तिलाई आफ्नो प्रभावमा पार्न सफल त्यस्ता तत्वहरुले अनुगमन गर्नेहरुलाई समेत प्रभावमा पार्ने गरेको पाइन्छ । वर्षदिनमा आउने चाड मनाउन आम नेपालीले गच्छेअनुसारको आर्थिक व्यवस्थापन गरे पनि चाडबाड आउन थालेपछि हरेक सामानको मूल्य अचाक्ली बढाउँदासमेत राज्य बेखबरजस्तै भएर बस्ने गरेको पाइन्छ । बजारमा सामानको कृत्रिम अभाव गराएर मूल्य वृद्धि गर्नेहरुमाथि कडा कारबाही हुन नसक्दा आम नेपाली मारमा पर्ने गरेका हुन् ।

राज्यले बनाएको कानुन कार्यान्वयनमा देखिएको फितलोपनले पनि कालाबजारी गर्नेहरुको मनोबल बढ्दै गएको पाइन्छ । पहुँचको आधारमा कारबाही हुने हाम्रो मुलुकमा जनताले सुशासनको आभास गर्न पाएको अनुभूत हुन सकेको छैन । कानुन गरिब र निमुखालाई मात्र लागू हुने भएकाले पनि कानुनी शासन हराउँदै गएको अनुभव हुन थालेको छ । दोषी र अपराध गर्नेमाथि राज्य निर्मम भएर अघि नबढेसम्म काला व्यापारीले आफ्नो कालो धन्दालाई निरन्तरता दिने भएकाले राज्यले जनतामाथि खेलबाड गर्नेलाई कानुनको कठघरामा उभ्याउन सक्नुपर्दछ ।

न्याय पनि पहुँचको आधारमा विभक्त हुने भएकाले अहिलेको अवस्थामा सरकार छ भनेर भन्न सक्ने अवस्थासमेत देखिँदैन । सुशासनको नारा दिने सरकारले ज्यानमारालाई छानी–छानी सजाय माफ गर्न थालेपछि राज्य कुन दिशातर्फ अघि बढ्दै छ भनेर अनुमान गर्न सकिन्छ । वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक स्थानमा गरेका भाषणहरु सुन्ने हो भने मुलुकमा रामराज्य नै आइसकेको हो कि भन्ने प्रतीत हुन्छ तर व्यवहारमा हेर्ने हो भने मुलुक कुशासनको दलदलमा फस्दै गएको त होइन भन्ने आभास हुन थालेको छ ।

राज्य सञ्चालकहरुमा देखिएको स्खलनले आम नागरिकमा समेत चरम निराशा छाएको छ । यसलाई समयमा सम्बोधन नगर्ने हो भने मुलुकमा यस्ता खालका बेथिति र विसंगतिले प्रश्रय पाउँदै जानेछन् । यसको अन्त्य गर्न सकिएमात्र मुलुकमा व्याप्त विभिन्न खाले विकृति र विसंगतिको अन्त्य हुनुका साथै जनताले खोजेको शासन व्यवस्था आउने थियो । जनता महँगीको मारमा परुन् कि अन्य प्रकारका समस्यामा परुन्, अहिले सरकारलाई त्यसले छुन सकेको छैन । अहिले सरकार कसरी सत्ता लम्ब्याउन सकिन्छ भन्ने ध्याउन्नमा रहेको छ । त्यसैले सरकारले मुलुकमा सरकार छ भन्ने अनुभूत जनतालाई गराउने हो भने सबै खाले बेथिति र विसंगतिको अन्त्य गर्नेतर्फ अघि बढ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्