परिवार योजना सेवा



नेपालको संविधान, सुरक्षित तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ र जनस्वास्थ्य सेवा ऐन २०७५ बाट प्रदत्त व्यक्तिको परिवार योजना सेवासम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि सहज, सर्वसुलभ हुनुपर्ने उल्लेख गरिएको छ । साथै मातृ तथा नवजात शिशु मृत्यु दर, किशोरी प्रजनन दर कम गर्न र गर्भनिरोधक साधन प्रयोग दर बढाउने, दिगो विकास लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकार, नीजि क्षेत्र, सहयोगी संस्था जिम्मेवार हुन आवश्यक रहेको प्रस्टै छ । अझै पनि परिवार योजना सेवालाई जनसंख्या नियन्त्रणको रुपमा बुझाइ, तालिमप्राप्त जनशक्ति परिचालन, गर्भनिरोधक साधनको आपूर्ति व्यवस्थापनममा घट्दो लगानी रहेको छ । त्यस्तै दम्पती साथमा नहुँदा साधनको निरन्तरता, पहुँचबाहिर रहेका समूहजस्ता चुनौतीहरु रहेका छन् । परिवार योजना सेवाको उपयोग नगरिरहेका र पहुँचबाहिर रहेका समूहहरुको पहिचान गरी स्थानीय परिवेशको आधारमा कार्यक्रम सञ्चालन गरेर आमा र बच्चाको स्वास्थ्य सेवामा टेवा पु¥याउन अपरिहार्य छ ।

आमा र बच्चाको स्वास्थ्य सुधारका लागि परिवार योजना सेवामा लगानी वृद्धि र पहुँच सुनिश्चित गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, निजी क्षेत्र, सरोकारवाला, तीनै तहका सरकारले प्राथमिकतामा राख्नु जरुरी छ । संविधान प्रदत्त हक प्राप्तिका लागि सबै पक्षको सहयोगको आवश्यकता छ । विगत १० वर्षदेखि सेप्टेम्बर १८ का दिन राष्ट्रिय परिवार योजना दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइन्छ । यस वर्ष पनि ‘परिवार योजना सेवाको लक्ष्य ः आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौं सबै पक्ष’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरुपमा दशौँ राष्ट्रिय परिवार योजना दिवस देशभरि मनाइयो । परिवार योजना सेवाले आमा तथा बच्चाको स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पु¥याउने भएकोले यस सेवाको पहुँचको सुनिश्चितताका लागि लगानी वृद्धि गर्न सबै पक्षको प्रतिबद्धताका लागि यो नारा छनौट गरिएको छ । तर राज्यले तय गरेका नारा सार्थक बनाउन सबै पक्षको एकताको खाँचो छ ।

राष्ट्रिय जनगणना २०७९ मा आधारित मातृ मृत्युसम्बन्धी अध्ययन अनुसार अझै पनि प्रतिलाख जीवित जन्ममा मातृ मृत्य १ सय ५१ रहेको छ । त्यसै गरी मातृ मृत्यु भएका महिलाहरुमध्ये १० प्रतिशत किशोरी रहेका छन् र ५ प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइएको छ । नेपाल जनसांख्यिक सर्वेक्षण २०२२ अनुसार नवजात शिशु मृत्युदर प्रति १ हजारमा जीवित जन्म २१ रहेको छ । गुणस्तरीय परिवार योजनाको सर्वव्यापी पहुँच मातृ मृत्युलाई घटाउने एक महत्वपूर्ण आधार हो । विश्व स्वास्थ्य संगठन अनुसार दम्पतीले दुई गर्भबीच कम्तीमा २ वर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३० प्रतिशत मातृ मृत्यु र १० प्रतिशत बाल मृत्यु घटाउने उल्लेख गरिएको छ । नेपालको हकमा भने करिब ५३ प्रतिशत मातृ मृत्युलाई कमी ल्याउन परिवार योजना सेवाको योगदान रहेको एक अध्ययनमा उल्लेख छ ।

२० वर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकी महिलाको स्वास्थ्य र सशक्तीकरण गर्नुका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पु¥याउने भएकाले परिवार योजना सेवाको पहुँचको सुनिश्चितता गर्नुपर्ने देखिएको छ । परिवार योजना सेवालाई सरकारको प्राथमिकतामा राख्नका लागि बजेट तय गर्दा नेपाल सरकारले ध्यान दिनुपर्नेमा पछिल्लो समय परिवार योजनाको क्षेत्रमा बजेट कम गर्दै लगेको विषयमा सरकारको ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस्