४ सय केभी विद्युत् स्वस्टेसन बनाउन जग्गा अधिग्रहणको प्रक्रिया सुरु



रामेछाप ।

रामेछापको रामेछापको खाँडादेवी गाउँपालिकामा ४०० केभी ए प्रसारण लाइनको स्वस्टेसन बन्ने भएको छ । गाउँपालिकाको वडा नं १ राकाथुमस्थित टार चौरमा अरुणपूल–टिङला हब, न्यु खिम्ती, तामाकोसी–३, सुनकोसी हब, ढल्केबर–४०० केभी ए स्वस्टेसन प्रसारण लाइनको स्वस्टेसन बन्न लागेको हो ।

सो स्वस्टेसन निर्माणको लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । स्वस्टेसनको लागि अधिग्रहण गर्न लागिएको जग्गाको केही दिनअघि खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी होमबहादुर पराजुली, विद्युत् प्राधिकरण आयोजना इकाई प्रमुख लगायतका प्राविधिक, खाँडादेवी गाउँपालिका– १ वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायत जनप्रतिनिधि र सरोकारवालाको टोलीले स्थलगत अनुगमन समेत गरिसकेको छ ।

स्वस्टेसन निर्माणको लागि वडा नं १ राकाथुममा टार चौरका स्थानीयको १८० रोपनी जमिन रोक्का राखिएको र यो जग्गा अधिग्रहण गर्दा ११ घर परिवारका १८ बढी घर गोठ उठाउनु पर्ने अवस्था रहेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए । ‘जग्गाको मुआब्जा दिने विषयमा छलफल भए पनि अन्तिम मुआब्जा रकम निर्धारण भइसकेको छैन, विकासको काममा स्थानीयको कुनै अवरोध गर्दैनन् तर उचित क्षतिपूर्ति पाउनु पाउनुपर्छ’, उनले भने ।

जग्गा अधिग्रहण र मुआब्जाको विषय निर्णयको चरणमा पुगेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए। मुआब्जाको विषयमा अन्तिम निर्णय गर्नु अघि प्रशासन र प्राविधिकको टोलीले स्थलगत अनुगमन गरेकाले स्थानीय प्रशासनले प्रचलित कानुन अनुसार जग्गाधनीको मागको उचित सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे । ‘मुआब्जाको विषय अन्तिम सहमतिको नजिक पुगेको भए पनि सबैको उपस्थितिमा निर्माण स्थलको स्थलगत अनुगमन गरेका छौँ, सम्भवतः अब छिटै निर्णय हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्