अहिले सरकारको विकल्प खोज्नु भन्दा पनि सरकारले गरेको कामलाई सघाएर जानु पर्छ :महामन्त्री शर्मा



सिन्धुली ।

नेपाली काग्रेसका महामन्त्री विश्वप्रकास शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । महामन्त्री शर्माले सरकारको विकल्प खोज्नु भन्दा पनि अहिले सरकारले गरी रहेको कार्य सम्पादन र सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई सघाएर जानुपर्ने बताउनुभयो ।

बुधवार प्रेस यूनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रचण्ड नेतृत्वको सरकारले जनताप्रति उत्तरदायि भएर भ्रष्टाचार विरुद्धको अभियान र सुशासन कायम गर्ने गरी कार्य सम्पादन गरिरहेकाले सरकारलाई सघाएर जानुपर्ने बताउनु भएको हो । ‘चुनावले कुनै पनि दललाई एक्लै सरकार बनाएर जान सक्ने मत दिएको छैन । त्यही कारण अहिले गठबन्धन सरकारले काम गरिरहेको छ ।

नेपाली काग्रेसले अहिले सरकारले गरेको काममा कही कतै कमजोरी भयो भने खबरदारी गर्दै सरकारको काममा सघाउनु पर्छ । तर तत्काल सरकार परिवर्तन सोच्ने बेला भएको छैन्’ महामन्त्री शर्माले भन्नुभयो । नेपाली काग्रेस भित्र सरकार परिवर्तन गरेर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने आवाज उठेको भए पनि तत्काल त्यो सम्भावना नरहेको महामन्त्री शर्माले बताउनुभयो ।

उहाँले काग्रेसकै नेतृत्वमा सरकार बनाउछु भन्ने हो भने भावि दिनमा काग्रेसले बहुमत ल्याउने गरी सोच्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि भ्रष्टाचारको काण्ड छानविन गर्न सरकारका निकायहरुलाई नै स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्