शालीन नेताको अवसान



नेपाली राजनीतिले एक कुशल राजनीतिज्ञ गुमाएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा रहनुभएका सांसद सुवास नेम्वाङको अप्रत्यासित निधनपछि एक शालीन नेता देशले गुमाएको भन्दै समवेदना प्रकट गर्नेहरुको संख्या पनि बढ्दो छ । नेपाली राजनीतिमा आएका अधिकांश नेताहरु केही न केही विवादमा तानिदै आए पनि स्व. नेम्वाङ भने विवादमा तानिनुभएन । उहाँले लय बिराउन खोजेको राजनीतिलाई लयमा ल्याउन अहं भूमिका निर्वाह गर्नुभएको थियो । लामो समयदेखिको नेपाली जनताको चाहना पूरा गर्ने क्रममा संविधानसभाबाट संविधान जारी गर्न नेम्वाङले खेल्नुभएको भूमिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेको थियो । झन्डै ५० वर्षदेखि सक्रिय राजनीतिमा रहँदै आउनुभएका नेम्वाङलाई सबै पार्टीले शालीन नेताको उपाधिसमेत दिएका थिए ।

नेपाललाई जातीय राज्यमा लैजाने कोशिश भएको बेलामा समेत त्यसले नेपाललाई गम्भीर दुर्घटनामा लैजान सक्ने भन्दै नेम्वाङले जातीय राजनीतिविरुद्ध जेहाद नै छेड्नुभएको थियो । नेपालको संसदीय राजनीतिमा लामो समयसम्म आफ्नो प्रभाव छोड्न सफल नेता नेम्वाङलाई सबै राजनीतिज्ञले असल नेताको रुपमा चिन्ने गरेका थिए । कसैलाई पनि व्यक्तिगतरुपमा अपमान गर्ने बानी नभएका नेम्वाङले २०७२ सालमा संविधान जारी गर्न खेल्नुभएको भूमिकालाई सबै राजनीतिक दलले उहाँप्रति दर्शाएको सम्मानले उहाँ कत्तिको सम्मानित नेता हुनुहुन्थ्यो भन्ने छर्लंग हुन्छ । नेता भएपछि नैतिकता हराउने गरेको आरोप लाग्ने गरेको भए पनि स्व. नेम्वाङले भने यस्तो आरोपको कहिल्यै सामना गर्नुपरेन ।

पार्टीले जबरजस्ती लादेको आदेशलाई पनि कमै मात्रामा कार्यान्वयन गर्ने गर्नुभएका नेम्वाङले विपक्षीको समेत मन जित्ने काम गर्नुभएको थियो । लामो समय संसद्को सभामुख र संविधानसभाको अध्यक्षको भूमिकामा रहँदा पनि उहाँले कहिल्यै विवादमा आउने काम गर्नुभएको थिएन, जसले गर्दा उहाँलाई नेपालको संसदीय राजनीतिमा सफल राजनीतिज्ञको रुपमा चित्रण गर्ने गरिएको थियो । उहाँको भूमिकाप्रति प्रतिपक्षीसमेत नतमस्तक हुने गरेकाले पनि नेम्वाङले आफ्नो जीवनकालमा कसैलाई चिढ्याउने काम गर्नुभएको थिएन । उहाँका समकालीनहरु पनि नेपालले यस्ता नेता पाउन अब मुस्किल पर्ने बताउन थालेका छन् ।

सरकारले नेपालको राजनीतिमा उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै राजकीय सम्मानका साथै बिदाइ गर्ने निर्णय गरेको छ । आम नेपाली जनताको मनमस्तिष्कमा बस्न सफल हुनुभएका नेम्वाङले देखाउनुभएको बाटोमा नेपाली राजनीति हिँड्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । उहाँप्रति कामना न्यूज पब्लिकेसन्स् पनि हार्दिक शद्धा–सुमन व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्