नेम्वाङको राजनीतिक यात्रा र योगदान

दुई पालिकामा शोक बिदा



इलाम । नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन एको छ । नेम्वाङको असामयिक निधनले उहाँको जन्म जिल्ला इलाम मात्र हैन देश नै शोकमा डुबेको छ । देशले एउटा असल अभिभावक गुमाएको छ । इलाम नगरपालिका–७ सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ मा जन्मिएका नेम्वाङको बाल्यकाल इलाममै बित्यो । उहाँले इलाममै बसेर माध्यमिक र उच्च शिक्षा लिनुभयो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति बन्नुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित सदस्य बन्नुभएको थियो । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

२०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो । नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उहाँ त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभयो । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम–२ बाटै निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम–२ बाट निर्वाचित नेम्वाङ कानुन समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

विक्रम संवत् २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उहाँले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द पर्नुभएको थियो । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा उहाँ सात महिना जेल पर्नुभयो ।

नेम्वाङ अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बन्नुभएको थियो । २०४८ देखि हालसम्म उहाँ लगातार सांसद रहनुभएको छ । उहाँ प्राध्यापक संघमा पनि सक्रिय हुनुहुन्थ्यो भने नेपाल बार एसोसिएसनको महासचिव पनि हुनुभयो । राज्यबाट उहाँलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उहाँलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ । नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा चिनिनुहुन्थ्यो ।

इलामबासीको नजरमा नेम्वाङ

१) डम्बर खड्का
सभापति, नेपाली कांग्रेस


आदरणीय सुवासचन्द्र नेम्वाङ राजनेता हुनुन्थ्यो । उहाँ सर्वमान्य नेता हुनुन्थ्योे । उहाँको निधनले नेपाली राजनीतिले अभिभावक गुमाएको छ । बालबच्चादेखि वृद्धवृद्धा सबैको प्रिय भएरै बिदा हुनुभयो । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

२) कुवेर निरौला
स्थानीय, इलाम नगरपालिका–७

राष्ट्रले एउटा शिखर पुरुष गुमाएको छ । उहाँ असल, इमानदार, निष्कलंक नेताका रूपमा चिनिनुहुन्थ्यो । एउटै पार्टीमा रहेर लामो योगदान दिनुभएका नेम्वाङको निधनले हामी सबैलाई दुःखित तुल्याएको छ । हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

३) उमेश गुरुङ
नेकपा एमाले सचिव, इलाम

सुवासचन्द्र नेम्वाङको निधनले नेकपा एमालेलाई मात्र नभएर सिंगो देशको राजनीतिमा क्षति पुगेको छ । उहाँले नेपाली राजनीति र विकास निर्माणमा पु¥याएको योगदान स्वर्णिम अक्षरले लेखिनेछ । सबैलाई मिलाएर लैजानु उहाँको मुख्य ध्येय थियो । कुनै पनि पार्टी, त्यसका नेता तथा कार्यकर्तालाई विभेदको नजरले नहर्ने एउटा शालीन नेता देशले गुमाएको छ । हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

४) कुमार वैद्य
सहपाठी, इलाम नगरपालिका–७


सुवासचन्द्र नेम्वाङ र म सानैदेखि साथी साथी हौं । सानैबाट मिहिनेती र लगनशील नेम्वाङ राजनीतिमा कलिलै उमेरबाट होमिएको हो । नेपाली राजनीतिमा निष्कलंक हुने राजनेताका रूपमा आफूले नेम्वाङलाई चिन्दछु । नेम्वाङको असामयिक निधनले इलाम मात्र नभएर सिंगो देशलाई नै क्षति पुगेको छ । नेम्वाङको निधनले आफू धेरै मर्माहत भएको छु । मृतक नेम्वाङप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

दुई पालिकामा शोक बिदा

नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनप्रति इलाम जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन् । २०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटकपटक मन्त्री र संसदीय समितिको सभापतिसमेत बनेका नेम्वाङको निधनले जिल्ला शोकमग्न छ । नेकपा (एमाले) जिल्ला कमिटीले मंगलबार बिहानै पार्टी कार्यालयमा शोकसभा आयोजना ग¥यो । शोकसभामा जिल्लास्थित पार्टीका नेताकार्यकर्ताको उपस्थिति थियो ।

नेम्वाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकाले मंगलबार शोक बिदासमेत दिएको छ । रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले विज्ञप्ति जारी गरी शोक बिदा घोषणा गर्नुभएको हो । यस्तै, माङ्सेबुङ गाउँपालिकाले पनि मंगलबार पालिकाभर शोक बिदा दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो ।

जिल्लाका राजीतिक अभिभावकसमेत रहनुभएका नेम्वाङको निधनमा एमाले मात्र नभई सबै दल र क्षेत्रका व्यक्तिले शोक व्यक्त गरेका छन् । नेम्वाङको निधनले जिल्लालाई पनि अपूरणीय क्षति पुगेको उनीहरूको प्रतिक्रिया छ । नेपाली कांग्रेसका जिल्ला नेता तथा पूर्वसांसद बेनुपराज प्रसाईंले नेम्वाङले राजनीति गर्छु भन्नेहरूलाई सदाचार, शिष्टता, नम्रता, लगनशीलता राजनीतिको पहिलो खुड्किलो हो भन्ने सिकाएको बताउनुभयो । इलाम नगरपालिका मेयर तथा कांग्रेस नेता केदार थापाले नेम्वाङको निधनले देशै शोकाकुल भएको बताउनुभयो ।

इलाम नगरपालिकाले शोक विज्ञप्तिसमेत जारी गरी नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । इलामस्थित उच्च अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष उत्तम पौडेलले २०४२ सालमा इलाममा जिल्ला बार एसोसिएसन स्थापना हुँदा संस्थापकमध्येका नेम्वाङको निधनप्रति शोक व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्