सदा सम्झनामा समन्वयकारी राजनीतिज्ञ सुवास

२८ गते सार्वजनिक बिदा



काठमाडौं । शालीन नेताको रूपमा परिचित संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान करिब १ बजे घरमै हृदयाघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको निधन भएको हो ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उहाँलाई राती १ः२० बजे अस्पताल ल्याइपु¥याइएको र अस्पताल ल्याउँदा नै उहाँको शरीर चिसो भइसकेको थियो । यद्यपि, नेता नेम्वाङको निधन भएका औपचारिक घोषणा अस्पतालले बिहान ४ बजेर २० मिनेटमा गरेको थियो ।

नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । नेपाली राजनीतिमा निकै परिपक्व, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका नेम्वाङको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुगेको छ । नेपालको संविधान निर्माणमा उहाँले खेलेको समन्वयकारी भूमिका स्वागतयोग्य मानिएको थियो ।

नेम्वाङको पार्थिव शरीरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका नेम्वाङका साथ अन्त्येष्टि बिहीबार मात्रै गरिने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । नेम्वाङका छोरा बुधबार अपराह्न मात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिन लागिएको एमालेले जनाएको छ ।

एमालेका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । घरमा लगेपछि किराँत संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिने छ । नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ ।

हाल नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार नेताको छवि बनाउनुभएको थियो । इलाम बजारनजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा लाग्नुभएको थियो । विसं २०३३ मा राजद्रोहको मुद्दा लागेर उहाँ केही समय जेल बस्नुपरेको थियो ।

गत फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेद्वार बनाएका सांसद नेम्वाङलाई राष्ट्रपतिमा पराजित भएपछि आगामी पार्टी अध्यक्षको रूपमा समेत हेरिएको थियो । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री नेकपा समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, सरकारका मन्त्रीहरूलगायत उच्च पदस्थ व्यक्तिहरूले एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन अर्पण गरेका थिए । एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको निधनको शोकमा देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र संगठनका कुनै गतिविधि नगर्ने निर्णय गरेको छ । नेम्वाङको निधनपछि नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेर शोक मनाएको छ ।

संविधान निर्माणमा महत्वपूर्ण भूमिका
प्रधानमन्त्री, पुष्पकमल दाहाल

संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पु¥याउनुभएको योगदानको उच्च कदर गर्दछु । नेम्वाङको निधन र त्यागलाई सबैले आत्मसात गर्न सक्नुनै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

सिंगो मुलुकलाई अपुरणीय क्षति
केपी ओली, पूर्वप्रधानमन्त्री

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीका उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी पनि रहेको बताउनुभएको छ । उहाँको निधनको खबरलगत्तै शिक्षण अस्पताल पुगेका अध्यक्ष ओलीले श्रद्धाञ्जली वक्तव्यमार्फत् लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान नेपालीले सधैं सम्झिइरहने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीका नेता मेरा अत्यन्त हितैषी मित्र, मेरो दुःखसुखमा सहयोग गर्ने मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनले एमाले मात्र होइन सिंगो मुलुकलाई अपुरणीय क्षति पुगेको छ । उहाँको योगदानलाई राष्ट्रले सधैं सम्झिइरहनेछ । यो दुःखद् घडीमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, साथै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

संविधान निर्माणमा बिर्सन नसक्ने भूमिका
शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुवासचन्द्र नेम्वाङको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा उहाँको भूमिका बिर्सन नसक्ने रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ– ‘लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा उहाँले खेलेको भूमिका नेपाल र नेपालीले बिर्सने छैनन् । एक इमानदार र सकारात्मक सोच भएका नेताको निधनप्रति नेपाली कांग्रेस स्तब्ध भएको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछ ।’

एक इमानदार र निष्ठावान् नेता
माधव नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेपछि छोटो प्रतिक्रिया दिँदै भन्नुभयो– ‘एक इमान्दार र निष्ठावान् नेताको निधनले हामी सबैलाई मर्माहत तुल्याएको छ । यो अकल्पनीय निधनले सिंगो मुलुकको राजनीतिमा क्षति पुगेको छ । उहाँबाट सहमति र इमान्दारीताको राजनीति सबै राजनीतिज्ञले सिक्नुपर्छ ।’

विद्यालय उमेरदेखिकै सहपाठी
झलनाथ खनाल, पूर्वप्रधानमन्त्री

विद्यालय उमेरदेखिकै सहपाठी सुवासचन्द्र नेम्वाङसँगको आत्मीयता र घनिष्ठता पार्टी विभाजनपछि कायमै रहेको जिकिर गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भन्नुभयो– ‘पार्टी विभाजनप्रति बडो दुःखी हुनुभएका उहाँ पार्टी मिलाउने नयाँ उपाय खोज्न पाए हुन्थ्यो भनिरहनुहुन्थ्यो । २०४६ को परिवर्तनपछि संसद्मा वकिल, कानुन जानेको मान्छे चाहिने भएकाले नेम्वाङलाई राष्ट्रिय सभाको सांसद बनाइएको थियो । २०६२÷०६३ को परिवर्तनपछि उहाँ संविधान सभाको अध्यक्ष, म प्रधानमन्त्री भएर पनि काम ग¥यौँ । उहाँको अकल्पनीय निधनले सिंगो मुलुकलाई धेरै क्षति पुगेको छ । उहाँप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना अर्पण गर्दछु । ’

देशले ठूलो क्षति बेहोरेको छ
बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले देशले ठूलो क्षति बेहोरेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै लेख्नुभएको छ– ‘संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनबाट स्तब्ध र मर्माहत छु । आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ; मैले आत्मीय मित्र गुमाएको छु । उहाँप्रति हर्दिक श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना !’

२८ गते सार्वजनिक बिदा

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २८ गते बिहीबार अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयले सूचना जारी गरी बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बिदाका दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ । छोराहरू आज बुधबार विदेशबाट आइसक्ने र बिहीबार अन्त्येष्टिसँगै सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्