सुन तस्करीमा नागरिकता बिक्री प्रकरण : काभ्रेमा फेरि भेटिए विदेशी ‘सोनाम’

खारेजीको प्रक्रिया शुरू



-नागरिकता र राहदानी लिने विदेशीको संख्या छ पुग्यो । कर्मचारीको संख्या पनि थपिँदै छ । निमाको नागरिकता र राहदानी खारेजी प्रक्रिया शुरू ।

काभ्रे
सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिकता फेला परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गरेको अनुसन्धानमा थप एक जनाले नागरिकता र राहदानी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट लिएको खुलेको छ । काभ्रेबाट नागरिकता र राहदानी बनाउने विदेशीको संख्या ६ पुगेको छ ।

सीआईबीले ३०३०५९–२८९ नम्बरको नागरिकताबाट १२६०७५९४ नम्बरको राहदानी लिने व्यक्तिका बारेमा विस्तृत विवरण पठाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका नाममा भाद्र २४ गते आइतबार पत्राचार गरेको थियो । २०४३ साल असोज ९ गते जन्ममिति राखेर काभ्रेपलाञ्चोकको ठेगाना राखिएका सोनाम लामा काभ्रेका हैनन् । उनको राहदानी २०७८ पुस २१ गते काभ्रेबाटै जारी भएको छ । राहदानी र नागरिकता जारी गर्दाका बखत पेस गरिएका कुनै कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैनन् ।

तर, अभिलेखमा उनले काभ्रेबाट राहदानी लिएको उल्लेख गरिएको छ । सोनामको नाममा जारी भएको नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेको अभिलेखमा अर्कै व्यक्तिका नाममा देखिएको छ । रामेछाप माइती भई काभ्रेको साविक भिमखोरी गाविस घर भएकी एक महिलाका नाममा २०६३ सालमा जारी भएको नागरिकता नम्बर सोनामले बनाएको राहदानीमा प्रयोग भएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ भनिने निमा तामाङले २०७४ पुस २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएका थिए । २०७८ सालमा पनि उनका बारेमा अनुसन्धान भएको थियो । नागरिकता लिन प्रयोग भएका अनुसूचीहरू गायब बनाइएको, विदेशी भएको तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पुष्टि भए पनि दावालाई कारबाही नभएको मात्रै होइन उनको नागरिकता पनि रद्द गरिएको थिएन । दावाले आफ्नै दाजु बनाएर बाबु पेमा तामाङ राखेर पासाङ तामाङका नाममा चिनियाँ नागरिकलाई एकै दिन नागरिकता दिलाएका थिए । उनी को हुन् ? के गर्दै छन् अझै खुलेको छैन ।

‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’, स्रोतले बतायो– ‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृह मन्त्रालयको रेकर्डमा भेटिँदैन ।’

राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहदानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बरसँगै छ । उनीहरू दुवै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको थियो ।

अनुसन्धानमा पासाङ र तेन्जिङ पनि फेला परेका छन् । तेन्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अर्थात् २०७६ फागुन १२ गते काभ्रेपलान्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ । त्यसमा काभ्रेपलाञ्चोक जिल्ला जन्म स्थान उल्लेख गरिएको छ । अन्य व्यक्तिहरू पनि विदेशी भएको आशंका गरिएको छ । विदेशीलाई नागरिकता बिक्री प्रकरणमा राजनीतिक नेतृत्वको संलग्नता देखिएको छ । नागरिकता बिक्री प्रकरणमा कर्मचारीहरूको संख्या पनि थपिँदै गएको छ ।

खारेजीको प्रक्रिया शुरू

सुन तस्करीमा संलग्न भई पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिारिङले निमा तामाङका नामबाट नेपालको नागरिकता प्राप्त गरेको विषयमा ‘निमा तामाङको नागरिकता छानबिन गठित समितिको प्रतिवेदन २०८०’ ले दिएको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निजको नागरिकता खारेजी प्रक्रिया शुरू गरेको छ ।

२०८० भदौ १८ गते सोमबार हाजिर भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा शुक्रबार भाद्र २२ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, सहायक प्रमुख जिल्ला अधिकारीको टिप्पणीसहितको निर्णयका आधारमा गृह मन्त्रालयमा नागरिकता र राहदानी खारेजी तथा संलग्न कर्मचारीलाई कारबाहीका लागि सिफारिस गर्नुभएको हो । नेपाल समाचारपत्र दैनिकले निरन्तर विदेशी नागरिकलाई नागरिकता उपलब्ध गराएका विषयमा समाचार प्रकाशन गर्दै आएको छ । सोही समाचारका आधारमा गृह मन्त्रालयले मन्त्रलायका उपसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

‘छानबिन समितिले दिएको निर्देशनअनुसार जिल्लाले गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी संलग्न कर्मचारीलाई कारबाही, नागरिकता र राहदानी खारेजीका लागि शुक्रबार मन्त्रालय पठाएका छौं’, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भन्नुभयो– ‘जिल्लाको नागरिकको हकमा नागरिकता रद्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने भए पनि विदेशी नागरिकको हकमा मन्त्रालय स्तरबाट निर्णय गर्नुपर्ने भएकाले आवश्यक प्रक्रियासहित मन्त्रालय पठाएको छु ।’

प्रतिक्रिया दिनुहोस्