सुन निकासीको अवैध नाका वीरगन्ज 



वीरगन्ज। 

६० किलो सुन तस्करीको लहर वीरगन्जसम्म आइपुगेको छ । सुन तस्करीमा संलग्न रहेको अभियोगमा सिआइबीले कलैया सुनचाँदी व्यवसायी संघका अध्यक्ष  शिवकुमार सरार्फलाई नियन्त्रणमा लिएपछि वीरगन्जको बाटो भएर सुन भारत तर्फ निकासी हुने गरेको रहश्व खुलेको हो ।

पर्साको नाका भएर सुन भारत तर्फ तस्करी गर्दै आएको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको छ । वीरगन्जमा रहेका करिब एक दर्जन सुन पसलेहरु समेत अवैध मार्ग भएर आएको सुन खरिद गरी भारत तर्फ तस्करी गर्दै आएको भएपनि  प्रहरीले उनीहरुलाई निगरानीमा राखेपनि हाल सम्म नियन्त्रणमा भने कसैलाई लिएको छैन ।

स्रोतका अनुसार सुनचाँदीको कारोबारमा वीरगन्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगन्जका अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आदर्श स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट कारोबार गर्ने अभिषेक सोनार, सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत कारोबार गर्ने सन्दीप र शंकर साह सोनार समेत सिआईवीको निगरानीमा रहेको प्रहरी श्रोतले जनाएको छ ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रवीन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्राउ गरेर कारबाहीमा परेका व्यवसायी हुन ।

कन्हैया सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भूलन साह सोनारका सहोदर भाई हुन ।वीरगन्ज देखि विराटनगर सम्मका सुनचाँदीको अवैध कारोबारमा सलंग्न कारोवारीहरुको लिष्ट सिआईवीले तयार गरेपनि पहिलो चरणको कारबाहीमा उनीहरुलाई पक्राउ नपरे पनि  दोस्रोमा पक्राउको सम्भावना रहेको श्रोतको भनाइ छ ।
सुन खरिद गरेर भारत तर्फ तस्करी गर्ने समूहमाथि संगठीत अपराधमा कारबाही चलाउन सक्ने भएकोले ६० किलो सुनको कारबाही अदालत पठाएपछि दोश्रो चरणको अनुसन्धानमा सुन तस्करहरुलाई कारबाही गर्ने योजना बनाइएको छ । सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यको नेतृत्वमा ३३ जनाको अनुसन्धान टोलीले यो प्रकरणका विभिन्न पाटामाथि अनुसन्धान गरिरहेको छ।

चिनियाँहरूले सुन तस्करीको लेनदेन मिलाउन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको प्रमाण प्रहरीले भेट्टाएको छ। ६० किलो सुन पनि भारत निकासीका लागि लैजाने तयारी भइरहेको अवस्थामा राजश्व अनुसंधानको टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्साका उक सुनचाँदी व्यवसायीका अनुसार यदि उक्त सुन काठमाडौँमा बरामद नभएको भए,वीरगन्जको बाटो भएर भारत निकासी भइसकेको हुने थियो  । राजामहाराजाहरुकै पालादेखि सुन तस्करीको मुख्य नाका वीरगन्ज नै भएको यहाँका पुराना सुनचाँदी ब्यवसायीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्