भ्रष्टाचार : दर्शनदेखि नेता–पुत्रसम्म



अख्तियार दुरुपयोग अनुन्धान आयोगलगायतका संवैधानिक निकायले पनि भ्रष्टाचार रोक्न सकेनन् । भ्रष्टाचार नहोस् भनेर संविधान र कानुनमा बलिया प्रावधानहरु राखिएका छन् । केही कारबाही पनि भएको छ । तर भ्रष्टाचार रोकिएको छैन । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सय किलो सुन (घटेर साठी), बोइङ खरिद प्रकरणजस्ता ठूला भ्रष्टाचारका सन्दर्भहरु मात्र होइन, सरकारी कार्यालयमा फाँटवालाले फाइल अघि बढाउन हेर्ने पाँच सय वा हजारका नोटका प्रसंगहरु पनि जहाँको त्यहीँ छन् । पछिल्लो समय ठूला भ्रष्टाचार र तस्करीका घटनामा ठूलै नेताको हात रहेको प्रमाण बाहिर आएका छन् । केही नेताका पुत्रहरुलाई प्रहरी अनुसन्धान ब्युरो सीबीआईले बयानका लागि बोलाएका घटनाले यस देशको उन्नतिका लागि नेताहरु कति समर्पित रहेछन्, प्रस्ट भएको छ ।

नेपालको संविधान, २०७२ ले धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेको छ । सो धाराको उपधारा १ मा नेपालमा एक अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहने, जसमा प्रमुख आयुक्त र अन्य चार आयुक्त रहने, आयोगलाई राजनीतिक दलको प्रभावबाट बाहिर राख्ने आदि प्रावधानको व्यवस्था छ । प्रमुख आयुक्तको योग्यता तोक्दा ‘नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्ति’ भनिनुले यही तथ्य प्रमाणित गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारमा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा यसले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भनिएको छ ।

तर, व्यवहारमा आयोग राजनीतिक दलको प्रभावबाट मुक्त हुन सकेको देखिन्न । राजकीय तथा प्रशासनिक संयन्त्र यसरी दलीय नियन्त्रणमा पुगेको छ कि प्रमुख आयुक्त र आयुक्तहरु राजनीतिक दलको भागवण्डाअनुसार नियुक्त हुने गर्दछन् । सर्वोच्च अदालतलगायतका संवैधानिक निकायमा राजनीतिक भागवण्डा छ । प्रभावशाली राजनीतिक दलले स्वीकार नगरेसम्म जस्तोसुकै योग्य व्यक्तिले पनि नियुक्तिबाट वञ्चित हुनुपर्छ ।

सत्ता सञ्चालनमा राज्यका तीन प्रमुख अंगबीच शक्ति सन्तुलन छैन । शक्ति केवल राजनीतिक दलको नेतृत्वमा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र हुन सकेका छैनन् । यो स्वयंमा संरचनागत भ्रष्टाचारको उदाहरण हो । शासन–प्रशासन सञ्चालनमा कानुनी प्रावधानले नै परोक्षरुपमा दलको दादागिरी स्वीकार गर्न लगाएको छ । त्यसकै परिणामस्वरुप आज राजनीतिक दलका प्रभावशाली नेता र उनीहरुका छोराछोरी ठूला भ्रष्टाचार र तस्करीमा मुछिएको देखिएको छ । सामन्तवादी व्यवस्था राजतन्त्रविरुद्ध जनतालाई संगठित गराएर दलीय व्यवस्था ल्याउन पहल गर्ने नेता र उनीहरुको परिवार नै यस्ता गलत काममा सरिक भएपछि वास्तवमा परिवर्तन यस्तै भ्रष्टाचार गर्न अनुकूल हुने वातावरणको सिर्जनाका लागि रहेछ भन्ने आशंका सिर्जना भएको छ ।

सत्ताधारी दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल सुन तस्करी प्रकरणमा पक्राउ परेको सर्वविदित छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा भने अझै फरार रहेको पनि कसैबाट लुकेको छैन । राहुल र प्रतीकपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई सीआईबीले पक्राउ गरेर बयान लिएको छ । राहुललाई चिनियाँ व्यापारी दावा लामासँग पटक–पटक फोन सम्पर्क भएको प्रमाणका आधारमा नियन्त्रणमा लिएको हो । तर, सोही प्रकरणमा चिनियाँ व्यापारीलाई भेटेका महरा भने पक्राउ परेका छैनन् । गत साउन २ गते भित्रिएको ६१ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीसहित दुई आरोपित व्यक्ति समातिए । ६ जना विदेशीसहित २५ व्यक्ति सुन तस्करीमा समातिएको अवस्था छ । उता ललिता निवास जग्गा प्रकरणमा १८ जना आरोपित प्रहरी हिरासतमा छन् ।

साढे ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग दीपेश पुनको असाधारण तवरमा सम्पर्क रहेको देखिएको छ । उता दावाकी श्रीमती अमला रोकाका व्यापारिक साझेदारसँग समेत दीपेशको सम्बन्ध देखिएको जानकारीमा आएको छ । पूर्वउपराष्ट्रपति र पूर्वअर्थमन्त्रीका परिवार सुन तस्करी गिरोहका व्यापारिक साझेदार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री वर्षमान पुनका परिवारको सुन तस्करीमा संलग्न गिरोहसँग व्यापारिक साझेदारी रहेको देखिनु सामान्य विषय हुन सक्तैन । प्रकाशित समाचारअनुसार २०७६ माघ १ गते अमला र दीपेश तीनजना चिनियाँसहित मनाङ एअरको हेलिकोप्टरमा गोसाइँकुण्ड गएका थिए । दावा पक्राउ परेको भोलिपल्ट अमलाले पूर्वउपराष्ट्रपति नन्दबहादुरलाई भेटेको भिडियो उनकी बहिनी नाता पर्ने विन्दु मगरले फेसबुक रिलमा राखेकी थिइन् । यी घटनाक्रमले दावा–अमला गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेको समेत खुलाउँछ ।

माओवादी भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव दीपेशले आफ्ना पिता र अन्य प्रभावशाली नेताको विनाआशीर्वाद यति लामो छलाङ मारेको स्वीकार गर्न सकिन्न । महरा र थापाका सम्बन्धमा पनि यही नियम लागू हुन्छ ।

भ्रष्टाचार र तस्करीका यी उदाहरण हेरेर यसको स्वरुप यस्तै मात्र हो कि भन्ने लाग्न सक्छ । तर भ्रष्टाचारको काय, स्वरुप र प्रकृति विस्तारित छ । झुटो बोल्नु, ठग्नु र ढाँट्नु पनि भ्रष्टाचार हो भनेर मान्दा भ्रष्टाचारी को छैन भनेर खोज्नुपर्ने हुन्छ । सत्य युगका ब्रह्मा हुन् वा त्रेता युगका राम, द्वापरका श्रीकृष्ण हुन् कि कलीका कर्मचारी, यी सबैबाट भ्रष्टाचार भएको देखिन्छ । तर, यसरी भ्रष्टाचारलाई सामान्यीकरण गरेर हेर्दा नेपालमा बालुवाटारको सरकारी जग्गा निजी बनाउनेहरु हुन् वा सुन तस्करी गरेर र नेपाली नागरिकलाई भुटानी बनाएर विदेश पठाउनेहरु हुन्, उनीहरुलाई राहत मिल्न सक्छ । ‘को मात्र भ्रष्टाचारी छैन र, मैले मात्र नराम्रो गरेको होइन नि !’ भन्ने भ्रम जाग्न सक्छ । तर एक कप चियामा हुने निकोटिन नामको विष र मेटासिड वा साइनाडलाई सँगै राखेर हेर्न सकिन्न । पहिलो खान, पचाउन र समाजमा स्वीकार गर्न सकिन्छ भने पछिल्ला विषहरुले तत्काल ज्यान नै लिन्छन् ।

विश्वका दर्शनहरु पढ्दा यत्रतत्र भ्रष्टाचारका बीज देखिन्छन् । पुराणअनुसार, एकदिन विष्णु भगवान् र ब्रह्माको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो । अनि जब उनीहरूले एकदमै खतरनाक अस्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्योतिर्लिंग बनेर शिवजी प्रकट भए । त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्योतिर्लिंगको फेद र टुप्पो पत्ता लगाउन आदेश दिए । विष्णुदेवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन् । टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ति लगाए । विष्णुले हार स्वीकारे । तर ब्रह्माले ज्योतिर्लिंगको टुप्पो फेला पारेको भनी ढाँटे । अर्थात् ब्रह्माले पनि ढाँटेर भ्रष्टाचार गरे । यद्यपि ब्रह्माले ढाँटेका कारण क्रोधित शिवजीले ब्रह्माको एउटा टाउको काटिदिए । कसैले पनि उनलाई भगवान् भनेर पूजा नगरून् भनेर श्राप दिए । नेपालका चिरञ्जीवी वाग्ले, जेपी गुप्ताजस्तै उनी पनि पुनः राजनीतिक जीवनमा आउन नसक्ने गरी अपमानित भए, कसैबाट नपुजिने भए । यद्यपि कानुनले स्थान नदिए पनि समाजले उनीहरुलाई ठाउँ दिइरहेको छ । समाजलाई नै भ्रष्टाचार सामान्य कुरा हो, हुँदै गर्छ भन्ने लागेपछि समाज नै भ्रष्टाचार–मैत्री छ भनेर किन नभन्ने !

मनुस्मृति र निर्णयसिन्धुजस्ता पुरातन धार्मिक कानुनले पनि भ्रष्टाचारलाई बहन गरे । महिलालाई मृतक श्रीमान्सँगै सती पठाउने, तर पुरुषलाई श्रीमतीको अन्तिम संस्कार नसकिँदै अर्को विवाह गर्न हुने असमान नियम बनाएर ऋषिमुनिहरुले भ्रष्टाचार नै गरेका हुन् । जन्मका आधारमा मान्छे–मान्छेबीच विभेद गर्ने, जात–जातिबीच विभेद कायम गर्ने, ब्राह्मण–क्षत्री, वैश्य, शूद्र बनाएर मान्छेले मान्छेलाई छुनसम्म नहुने र क्षमताको अवमूल्यन गर्ने नियम बनाउनु संस्थागत विभेद होइन ? भनिन्छ, चार मानवीय अपराधका कारण पूर्वीय संस्कार चौतर्फी घेराबन्दीमा परेको हो– सतीप्रथा, दासदासी प्रथा, छुवाछूत र जार काट्ने चलनका कारण पूर्वीय दर्शनमाथि धावा बोल्ने काम भयो । लैङ्गिक विभेदका कारण यस विश्वका आधा जनसंख्या त पूर्वीय दर्शनका विरोधी हुने नै भए ।

‘वैदिक परम्परामा पुरुषलाई ठूलो र स्त्रीलाई सानो मानेर विभेद गर्ने काम भएको छैन, दुवैलाई समकक्षी र सममूल्यमा राखिएको छ । हुन पनि स्त्री–पुरुष समान मर्यादा हुनु एउटा सभ्य समाजको परिचायक संस्कार पनि हो’, पूर्वीय दर्शनको पुनव्र्याख्यामा डा. प्रमोद ढकाल लेख्छन्– ‘आत्मा, जीवन, प्रकृति, पुरुष, पुनर्जन्म, मोक्षजस्ता जटिल र गम्भीर विषयमा तार्किक कारण दिएर व्याख्या गर्न सक्ने पूर्वीय दर्शन अपूर्व छ । तर, यसमा वैदिक कालभन्दा यता आएर कमजोरी र त्रुटिहरु जडिन थालियो । परिणामस्वरुप यसमाथि आक्रमण गर्नेहरुले अवसर पाए ।

भ्रष्टाचार पनि यस्तै कमजोरी हो, जसलाई हामीले गणेशको पूजाका साथ स्थापित ग¥यौं । गणेशलाई ‘स्लिम बडी’ बनाउनुस्, सुगठित देखिनुस्, अझै राम्रो हुनुहुन्छ भनेर साँचो बोल्नुको साटो ठूलो शरीर भएकाले सूर्यजत्तिकै तेजिलो देखिनुहुन्छ भनेर चाटुकारिता ग¥यौं । उहाँको बाङ्गो नाक जो छ, त्यो सीधाभन्दा आकर्षक लाग्छसम्म भन्यौं । शास्त्रले चाटुकारिता गर्न सिकायो । निष्कर्षमा हामीलाई भ्रष्टाचार गर्न सिकाइयो । कसैलाई रिझाउन जसरी कमाएको भए पनि स्रोत–साधन चाहिन्छ, सम्पन्नता चाहिन्छ भन्ने धारणाले भ्रष्टाचार बढायो ।

प्रतिक्रिया दिनुहोस्