स्वार्थप्रेरित समूहप्रति सतर्क रहन प्रधानसेनापतिको निर्देशन



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैन्य संगठन आजको भोलि नै तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र अनुशासित समूह भएको बताउनुभएको छ । नेपाली सेनाको ४४औं प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा आइतबार नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सेनाको निर्माण कार्य निरन्तरको प्रक्रिया भएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीको सामना गर्न सेना तयारी अवस्थामा रहनुपर्छ ।’ प्रधानसेनापति शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामी प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनाका सकल दर्जालाई निर्देशन दिनुभयो ।

उहाँले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा पनि जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको स्मरण गर्दै सामूहिक प्रयासबाट नेपाली सेनाले आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासको लागि सकलदर्जालगायत नेपाली सेनामा कार्यरत निजामती कर्मचारी र आश्रित परिवारलाई धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्