ज्येष्ठ नागरिक मिलन केन्द्र  वृद्ध-वृद्धाका लागि जरुरी : उपसभामुख मगर



बुटवल। 

रुपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्र शनिवारदेखि सञ्चालनमा आएको छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले शनिवार ज्येष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गरेकी हुन् । उपसभामुख  मगरले  यस्ता मिलन केन्द्रले ज्येष्ठ नागरिकलाई सहज हुने बताइन् ।

मिलन केन्द्र तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनको शुभ अवसरमा २५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताए । ७० वर्ष उमेर पुगेका तिलोत्तमा र बुटवल नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई मात्र मिलन केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ  ।

केन्द्र सञ्चालनका लागि ५ करोडको अक्षयकोष बनाउने लक्ष्य भएपनि अहिलेसम्म अक्षयकोषमा जम्मा १२ लाख ५० हजार सङ्कलन भएको छ । केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

 सोही अवसरमा मिलन केन्द्रले ज्येष्ठ नागरिकलाई लक्षित गरी नि:शुल्क बृहत् स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिएका थिए । शिविरमा सहभागी ज्येष्ठ सदस्य हिराबहादुर भलामीको स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गरिएको थियो ।

 कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले ज्येष्ठ नागरिकबाट  धेरै कुराहरुको अनुसरण गरी त्यसलाई व्यवहारमा  लागू  गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य चिन्तामणि पाण्डे,  गुल्मेली संम्र्पक समाजका अध्यक्ष नारायण पन्थ, संस्थापक अध्यक्ष हिरा बहादुर भलामी ज्येष्ठ नागरिक मिलन केन्द्रकी उपाध्यक्ष ओमी पुन लगायतले समाजले निमार्ण गरेको श्रृगेश्वर धाम परिसरमा  संचालन गरिएका परियोजनाको बारेमा प्रकाश परेका थिए । सोही समारोहमा ज्येष्ठ नागरिक मिलन केन्द्रका सोचकर्ता स्वर्गीय  खेम पुनको शालिकको अनावरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्