मुलुकमा सामाजिक विद्वेष  फैल्याउने तत्त्व क्रियाशील : अध्यक्ष ओली

0
Shares

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष  फैल्याउने तत्त्व  क्रियाशील रहेको बताएका छन् ।
हरितालिका तिजको अवसर पारेर अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले आज भक्तपुरमा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले समाजमा मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको बताए ।

चाडपर्वहरुसँग मेल नखाने गतिविधि हुनु सुखद् नभएको बताउँदै अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सद्भाव कायम गर्नु रहेको उल्लेख गरे। उनले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको भन्दै त्यसले सामाजिक प्रबन्धहरुलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।देशमा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाड्ने तत्वदेखि सचेत रहनु पर्छ एमाले अध्यक्ष ओलीले भने ।

ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वहरुदेखि राष्ट्रिय एकता खतरामा परेको बताए ।
उनले भने , “यसरी सबै जातजातिका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।”

एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।