एमालेमा केपी ओलीको विकल्प छैन : महेश बस्नेत



दोलखा।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले नेकपा एमालेमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।

नेकपा एमालेमा केपी शर्मा ओलीको विकल्प छैन र विकल्पको बारेमा बहस पनि भएको छैन, राष्ट्रिय युवासंघ नेपाल दोलखाको नवौँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा पोलिटब्युरो सदस्य बस्नेतले भने– यस्तो वहस प्रायोजित रुपमा फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा मात्र चलाइएका हुन् ।

एमाले पोलिटब्युरो सदस्य बस्नेतले भ्रष्टाचार, अनियमितता, ब्यथिति, असुरक्षा जस्ता कुरा प्रधानमन्त्री पुष्पकमल दहालकै कारण मौलाएको उल्लेख गर्दै  त्यसको विरुद्ध राष्ट्रिय युवासंघ नेपालले अभियान सञ्चालन गर्नुपर्ने बताए ।

एमाले पोलिटब्युरो सदस्य बस्नेतले आफ्नो पार्टीले जातीय, भाषिक, धार्मिक रुपमा कसैलाई पनि विभेद नगर्ने उल्लेख गर्दै  मानिसको परिचय जात, भाषा, लिङ्ग, पेशा, धर्मकै माध्यमबाट स्थापित हुने बताए । धरानमा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष छितिज थेवेलाई निषेध गर्ने भनिएको प्रशंगमा बस्नेतले त्यस्तो अवस्था आयो भने सशक्त प्रतिवाद हुने चेतावनी दिए । धरानमा हुने राष्ट्रिय युवासंघ नेपालको कार्यक्रममा आफू शनिवार बिहानै धरान जान लागेको पनि बस्नेतले बताए ।

राष्ट्रिय युवासंघ नेपाल दोलखाको संयोजक भुवन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद भरत बहादुर केसी, नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठ, राष्ट्रिय युवासंघ नेपाल दोलखाका प्रवक्ता सरोज बस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्