पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर



पार्टी विभाजनपछि एकढिक्का छ भन्ने सन्देश दिने भन्दै आन्तरिक लोकतन्त्रको उपयोग गर्न नपाएको नेकपा एमालेमा पछिल्लो समय लुम्बिनी प्रदेशको चुनावमा आन्तरिक लोकतन्त्र उपयोग गर्न पाएकोमा कार्यकर्तामा खुशीयाली छाएको छ । यता एमाले विरोधीहरुका लागि आन्तरिक चुनाव मसलाको रुपमा प्रयोग भएको छ । एमालेमा गुटको उदय भएको र लुम्बिनीमा पार्टी महासचिव शंकर पोखरेलको हार अनि पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्षको जितको रुपमा प्रचार शुरु हुन थालेको छ ।

पार्टीमा अध्यक्षबाहेक अन्यको कुरा सुनुवाइ नहुने भन्ने गुनासो बढिरहेको बेला भएको आन्तरिक चुनावले कार्यकर्ताले आफ्नो मन परेको नेता रोज्न पाएका छन् । केन्द्रबाट सहमतिमा नेतृत्व चयनको दबाबलाई वास्ता नगरी मतदानमा सहभागी कार्यकर्ताले आफ्नो मन परेको नेतालाई मतदान गरेर निर्वाचित गराएका छन् ।

मुलुकको राज्यसत्ता सञ्चालन गर्दै आएका देशका ठूला भनिएका पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै नेतृत्वको कडा आलोचना हुने गरेको भए पनि पार्टीबाट आफ्नो साख गिर्ने डरले नेताहरुले पार्टीभित्र सकेसम्म आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिने र भइहाले पनि लोक हँसाउने खालको हुने गरेको थियो । प्रमुख विपक्षी दल नेकपा एमाले अहिले पार्टीको प्रदेश नेतृत्व चयन गर्ने प्रक्रियामा रहेको छ ।

लुम्बिनी पहिलो अधिवेशन भएका कारण पार्टी अध्यक्ष केपी ओलीले चिर्वाचन होइन, सहमतिमा नेतृत्व चयन गर्न पटक–पटक निर्देशन दिएको भए पनि त्यसको अवज्ञा गर्दै कार्यकर्ताहरुले पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत बनाउन चुनावी प्रक्रियामा सामेल भएर अगाडि बढ्ने निर्णय गरेका थिए । भदौ र असोज दुई महिना एमालेले प्रदेश अधिवेशको महिनाको रुपमा घोषणा गरेर अघि बढेको थियो । अब हुने प्रदेश अधिवेशनमा पनि केन्द्रले जे चाह्यो त्यही व्यक्ति निर्वाचित हुने सम्भावना देखिँदैन । केन्द्रका नेताको आशिर्वादभन्दा पनि भूगोलमा बसेर पार्टीप्रति बफादार रहेका कार्यकर्ताको मन जित्न सक्नुपर्दछ भन्ने सन्देश एमालेको बुटवल प्रदेश अधिवेशनले दिएको छ ।

जनजीविकाका सवालमा असफल भएका व्यक्तिहरु अहिले अवसरको खोजीमा हिँडिरहेका देखिन्छन् । त्यसैले कार्यकर्ताहरुले अब सही नेतृत्व चयन गरे पार्टीको अभिष्य रहला, होइन भने इतिहासको पाना पल्टाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । अतः सबै ठूला भनिएका दलहरुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै अघि बढ्न सक्नुपर्दछ । पार्टी नेतृत्वको अकर्मण्यताको कारण मुलुक दलदलमा फस्दै गएको छ । जनतामा निराशा चरम अवस्थामा पुगेको छ । मुलुकले विकास खोजिरहेको छ । जनता विकल्पको खोजीमा रहेका छन् । त्यसैले लोकतन्त्रमा विश्वास राख्ने दलहरुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबु्त बताउनेतर्फ अग्रसर हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्