४२ हजार कर्मचारीमा कोही भेटिएन ‘सर्वोत्कृष्ट’ : २ लाखको पुरस्कार खेर



काठमाडौं । सरकारले यस वर्ष पनि संघ सरकारअन्तर्गत कार्यरत ४२ हजार निजामती कर्मचारीमध्येबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्षझैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेको हो ।सरकार केही वर्षदेखि सर्वोत्कृष्ट निजामती पुरस्कार छनोट गर्न असफल हँुदै आएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ । तर, १ जनालाई सर्वोत्कृष्ट पुुरस्कार दिन निर्णय सरकारले गर्न सकेन । सर्वोत्कृष्ट पुरस्कारको राशि २ लाख रुपियाँ रहेको छ । तर, सो पुरस्कार कसैले पनि पाउन नसक्दा २ लाखको पुरस्कार खेर गएको छ ।

यस्तै, उत्कृष्ट निजामती पुरस्कारको राशि १ लाख र निजामती सेवा पुरस्कारको राशि ५० हजार रहेको छ । हाल संघ सरकारअन्तर्गतको दरबन्दी ५३ हजार रहेकोमा झण्डै ४२ हजार कर्मचारी कार्यरत छन् । २२ भदौमा मनाइने निजामती सेवा दिवसका दिन १ जना सर्वोत्कृष्ट, १० जना उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने कानुनी प्रावधान छ ।

४२ हजार कर्मचारीमध्येमा एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न सिर्जना भएको छ । प्रशासनविद्हरूले निजामती क्षेत्रमा सर्वोत्कृष्ट कर्मचारीको रूपमा कोही पनि देखिन नसक्नुलाई दुखद् र दुर्दशाको रूपमा औंल्याएका छन् । पुरस्कारको मापदण्ड भए पनि सो मापदण्ड लागू हुन नसक्दा पुरस्कारमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ पर्ने गरेको गुनासो आमकर्मचारीको छ । यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको गुनासो कर्मचारीको छ ।

यसअघि मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले ४० जनालाई पुरस्कार प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस समितिले सर्वोत्कृष्ट कर्मचारी छनोटमा खासै पहल गर्न नसकेको भन्दै आलोचना भएको छ । सरकारले गत वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन ।

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । निजामती सेवा दिवस मनाउन थालिएको १९ वर्ष पूरा भए पनि यस अवधिमा सरकारले जम्मा चार जनालाई मात्रै सर्वोत्कृष्ट पुरस्कार दिन सकेको छ । यसअघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, भाइकाजी तिवारी र शान्तराज सुवेदीले २ लाख राशिको सर्वोत्कृष्ट पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्