कामनपा १६ का वडाध्यक्ष रिजालको निधन



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल निमोनिया संक्रमणले च्यापेका रिजालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

रिजाललाई भाइरल संक्रमण भएपछि गत आइतबार धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको थियो । उहाँको बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर विनोद बिजुक्छेले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो । अस्पतालका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उहाँको निधन भएको हो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि बुधबार नै उहाँको डायलासिस पनि गरिएको थियो ।

चिकित्सकका अनुसार शुरूमा अस्पताल आउँदा ठिकैजस्तो देखिएका रिजाललाई त्यसै दिन राति आईसीयूमा राखेर उपचार शुरू गर्नुपरेको थियो । शुरूमा १–२ लिटर मात्रै अक्सिजन राखिएकोे उहाँलाई राति ६० लिटरसम्म दिनुपर्ने अवस्था भएको डाक्टरहरूले बताएका छन् । त्यसपछि भेन्टिलेटरमै राखेर उपचार शुरू गरेको थियो । भाइरल इन्फेक्सन नियन्त्रणमा आउन दुई हप्तासम्मको समय लाग्ने भए पनि रिजालको स्वास्थ्य अवस्था छिटोछिटो बिग्रिएको डाक्टरको भनाइ छ । बुधबार दिउँसो स्वास्थ्यमा केही सुधार भएको जस्तो देखिएका रिजाललाई बेलुकासम्ममा फेरि जटिलता बढ्न शुरू गरेर रक्तचापलाई सामान्य बनाउनकै लागि कठिन भएको थियो ।

कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी हुनुभएको थियो । काठमाडौं क्षेत्रनम्बर–७ का सभापतिसमेत रहेका रिजाल वडाध्यक्षमा दोस्रोपटक निर्वाचित हुनुभएको थियो । धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गर्नुभएको थियो । काठमाडौं–१६, बालाजुमा बसोबास रहेको रिजालका श्रीमती र २ छोराहरू छन् । काठमाडौं महानगरपालिकामा उहाँले लोकप्रिय जनप्रतिनिधिको छवि बनाउनुभएको थियो ।

नेपाली कांग्रेसले आफ्ना नेता रिजालको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । त्यस्तै, रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर राष्ट्रिय सभा गृहमा दिउँसो १ बजेसम्म राखिएको थियो । सभागृह पुगेर मेयर बालेन साहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको भीड लागेको थियो । हिजै साँझ ४ बजे उहाँको अन्तिम संस्कार हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्