सधैँको निराशा



असफलताले नै सफलता ल्याउँछ भन्ने नेपाली उखान लामो समयदेखि सुनिदै आएको हो । एउटा असफलताले कोही पनि अत्तिनुहुँदैन भन्ने पनि सुनिएकै हो । पटक–पटकको असफलतापछि सफलता आउँछ र त्यसले दिने फल निकै मीठो हुन्छ । भनिन्छ, सफलताको कथा सुनाएर असफलतालाई ढाकछोप गर्ने गरिएको छ । मुलुकमा अहिले त्यस्तै भएको छ । पटक–पटकको असफलतापछि अब मुलुकमा केही हुन्छ, निराशावादी बनिहाल्नुपर्ने कारण छैन भन्दै आशा जगाउन खोजिएको छ । तर पनि आशा गर्ने ठाउँ भने पटक्कै देखिँदैन ।

हिजो जनतालाई देखाइएको सपना आज पूरा भयो वा भएन, त्यो दलहरु नै जानून् तर आज जे हुनुपर्ने थियो त्यो भने पटक्कै भएको देखिँदैन । तैपनि सत्तामा पुगेकाहरुको हुंकार सुन्ने हो भने आफैंले आफ्नो आँखा छोपेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । अझै दलका नेताले गरेको कुकर्मलाई ढाकछोप गर्नेहरुको संख्या हेर्दा लाग्छ, लाज भन्ने शब्द नै अव आफैं लजाउन थालेको छ । १७ हजार मान्छे मारेर सत्ताको नेतृत्वमा पुगेका वर्तमान प्रधानमन्त्रीले अहिले आफूले सुशासनका लागि गरेको काम भन्दै आफ्नो कामको आफैं प्रचार गर्नुपरेको छ । विडम्बना, उहाँले जति सुशासनको प्रचार गरे पनि साँच्चिकै मुलुक सुशासनतर्फ अग्रसर हुँदै गएको छ त ? यो अहं प्रश्न बनेको छ ।

जता हेरे पनि निराशाबाहेक केही देखिँदैन । यो प्रश्नको खोजीमा आम जनता छन् तर यसको उत्तर कोहीसँग छैन । सबै आफ्ना बचाउनमा लिप्त छन् तर मुलुकमा देखिएका आम समस्याको समाधान गर्ने औजार भने कोहीसँग भेटिँदैन । कसैले माक्र्सवादको दर्शन छाँटेर जनतालाई अहिलेसम्म भुलाउन सफल भएका छन् भने अर्का थरी समाजवादको नारा दिएर जनतालाई भ्रममा पार्ने कोशिश गरिरहेका छन् । यी दुवै वाददेखि वाक्क भएका जनतालाई थप मूर्ख बनाउन केही युवा भनिएकाहरु विभिन्न वादलाई गाली गर्दै आफ्ना फोटो हरेक ठाउँमा टाँस्न लगाएर अर्को वाद जन्माउन खोजिरहेका देखिन्छन् । राजनीतिक एजेन्डा केही छैन चौबाटोमा बसेर दुनियाँलाई गाली गर्ने र हुटहुटीमा परेर छटपटिएका युवा जमातलाई आफ्नो बनाउने प्रयत्नमा उनीहरु सफल हुँदै गएको देखिन्छ ।

वादैवादको परीक्षणमा परेको नेपालले कहिले सही वाद पाउने हो ? त्यो भने इतिहासको विषय बनेको छ । अब पनि हरेक वादको पछि लागिरहने हो भने मुलुक कहाँ पुग्ला ? सोच्नुपर्ने समय आएको छ । भएका दलले त मुलुकलाई सही ढंगले अघि बढाउन सकेका छैनन् भने अहिले जन्मिएका दलबाट आशा गर्ने ठाउँ देखिँदैन । त्यसैले आफ्नो भविष्य कस्तो बनाउने भन्ने नेपाली जनता आफैंले सोच्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्