नेतालाई छुट छोराहरूलाई धमाधम बयान



काठमाडौं । सुन तस्करी प्रकरणमा नाम जोडिएका नेताहरूलाई छुट दिएको सरकारले सोही प्रकरणमा संलग्नता देखिएका नेताका छोराहरूलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।

गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६१ किलो सुन तस्करी र गत वर्ष इलेक्ट्रोनिक्स चुरोट (भेप) मा लुकाएर ल्याएको सुन काण्डमा जोडिएका नेताका छोराहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत् स्कुटरको पार्टपुर्जामा लुकाएर ल्याएको एक क्विन्टल सुन तस्करीका मुख्य नाइके दावा छिरिङ नामका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि तस्करसँग नेताहरूको संलग्नता खुलेको थियो ।

सुन काण्डमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनसहित उहाँको परिवारका सदस्यहरूको संलग्नता आशंकामा सूक्ष्म अनुसन्धान गरेको प्रहरीले नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई बयान लिएको छ । यसअघि कृष्णबहादुर महरापुत्र राहुल महरालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा सत्तारुढ दल नेकपा माओवादीका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दबहादुर पुन र उनका छोराहरू संलग्न रहेको दाबी गरिएको छ ।

 

अधिकारीको पनि लिइयो बयान, गृह मन्त्रालयबाट पनि हटाइए

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग बयान लिएको छ ।

सीआईबीले मंगलबार अधिकारीसँग बयान लिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सीआईबीले अधिकारीलाई कागज गराएर छोडेको छ । दावासँग कनेक्सन देखिए पनि अधिकारीलाई बयान लिएर छोड्नुलाई शंकास्पद रूपमा लिइएको छ ।

अधिकारी र दावाबीच पटक पटक व्यावसायिक प्रयोजनकै लागि कुराकानी भएको विषय सार्वजनिक भएको थियो । त्यसपछि गृह मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको थियो । मन्त्रालय तानिएका अधिकारीलाई मंगलबारमात्रै सरकारले गृह मन्त्रालयबाट समेत हटाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेको छ ।

अधिकारीलगायतका सुन तस्करी प्रकरणमा मुछिएका अन्य कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि छानबिन जारी राख्दै आइरहेको छ । अधिकारीलाई अख्तियारले पनि छिटै बयान लिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।अख्तियारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक कनेक्सनका बारेमा समेत गहिरो गरी छानबिन गरिरहेको छ ।

 

पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग लामो बयान

६० किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग प्रहरीले लामो बयान लिएको छ ।

उक्त सुन काण्डका मुख्य अभियुक्तका रूपमा चिनिएका चिनियाँ नागरिक दावा छिरिङ र पुनबीच पटकपटक कुराकानी तथा एसएमएसमार्फत् कुराकानी भएको पाएपछि उक्त घटनाको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार दिउँसो बयान लिएको हो ।

सुन प्रकरणमा मुख्य भूमिकामा रहेका चिनियाँ नागरिक छिरिङ र माओवादी नेताका छोराछोरीसँग लामो समयदेखि सम्पर्कमा रहेको र उनीहरूबीच विभिन्न किसिमका व्यापार व्यवसायका लागि कुराकानी भएको पाइएको छ ।

पछिल्लो समय भएको सुन तस्करीमा माओवादीका नेता तथा उनका छोराछोरीको नाम मुछिन थालेपछि अनुसन्धान नै फितलो भएको आरोप प्रतिपक्षी दलका नेताहरूले लगाउँदै आएका छन् ।

माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका पुन लामो समयदेखि विवादमा रहँदै आएका थिए । शक्तिको आडमा अवैध काम गर्ने गराउनेमा अग्रपंक्तिमा रहेका पुनविरुद्ध यसअघि परेका उजुरीहरूमा प्रहरीले खासै चासो देखाएको थिएन ।

अहिले पनि यो मुद्दामा पुनलाई सीआईबीले कार्यालयमा बोलाएर बयान लिए पनि उनलाई हिरासतमा नराखी हाजिर जमानीमा छाडिएको छ । सोही सुन काण्डमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई भने सीआईबीले पक्राउ गरी थुनामा राखेको छ ।

एउटै मुद्दामा सीआईबीले कसैलाई बयान लिएर छाड्ने काम गरेको छ भने कसैलाई बयान दिनका लागि गएको बेला पक्राउ गरी हिरासतमा राखेको छ । अहिलेसम्म उक्त सुनकाण्डमा संलग्न रहेको अभियोगमा सीआईबीले २७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्