एमाले लुम्बिनी अधिवेशनमा पौडेल र पोखरेलबीच तानातान

सचिवमा दाङका आचार्य निर्विरोध, बाँकी पदमा निर्वाचन



बुटवल।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि पार्टीको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच तानातान भएको छ । सहमतिबाट नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन लाई समेत ठाडै उल्लङ्घन गरिएको छ  ।

१६ र १७ गते सम्पन्न गर्ने गरी आयोजना गरीको अधिवेशनमा आज सोमवार १८ गतेसम्म पनि नेतृत्व टुङ्गाउन सकिएको छैन ।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित हुनु भएको एमाले प्रचार विभाग सदस्य डीआर घिमिरेले जानकारी दिनु भयो ।
तदर्थ समितिको सचिव रहनु भएका आचार्य दोस्रो कार्यकालका लागि सचिवमा निर्वाचित हुनु भएको हो। आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत रहनु भएको थियो । आचार्य अध्यक्षका उम्मेदवार हरि रिजालको प्यानलबाट सचिवमा उम्मेदवार बन्नु भएको थियो ।

सचिव वाहेकका पदाधीकारी ४ पदका लागि १२ जनाको र लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल (आरके) र प्युठानका हरि रिजाल चुनावी मैदानमा हुनु हुन्छ । त्यस्तै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्माको उम्मेदवारी रहेको छ । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू उपेन्द्रलाल कामी (रुकुम पूर्व), दुर्गाप्रसाद थारू चौधरी (बाँके) पूर्ण बुढामगर (रोल्पा) र हिरा एसी (गुल्मी) हुन् । यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ । सचिव बाहेकका अब अन्य पदमा सोमवार राती ८ बजे पछि मतदान हुन निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिहरु मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्