देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ : अर्थमन्त्री डा. महत



कास्की ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सोमबार  सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन् । मन्त्री महतले महाभूकम्प, कोभिड महामारीदेखि विश्वमा आएको आर्थिक सङ्कटले देशको अर्थतन्त्रमा केही समस्या आएको जनाउँदै हाल अर्थतन्त्र सुधारको दिशामा अघि बढेको बताए ।

मन्त्री महतले अहिले बजारमा अनावश्यक कुरा फैलाउने जमात प्रति ईगित गर्दै नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने बताउँदै अलिकति समस्या आयो भन्दैमा निराश हुनु नपर्ने बताए । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक हुनु पर्नेमा जोड् दिए ।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार लागि परेको बताउँदै अर्थमन्त्री डा. महतले पर्यटनलाई समृद्धिको महत्त्वपूर्ण आधारका रुपमा लिइएको बताए । उनले नेपाल र पोखरामा पर्यटनका विकासका लागि पोखरालाई पर्यटनको ट्रान्जिट पाइन्ट बन्नु पर्ने बताए ।

नेपालको पर्यटन विकासका लागि निजगढमा विमानस्थल बनाउनुपर्नेमा पनि उनको जोड थियो । उनले भने, “काठमाडौँको विमानस्थल साँघुरो छ, जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आउँछ । पोखरा र गौतमबुद्ध विमानस्थलका पनि आफ्नै सीमा छन् । देशमा पर्यटनको उल्लेख्य विकासका लागि निजगढमा विमानस्थल बनाउनै पर्छ ।” निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै पूर्व–पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा फास्टट्र्याक बनाउनुपर्नेमा जोड थियो ।

राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र उद्यमी, व्यवसायीलाई राहत दिन विभिन्न निर्णय गरेको उनकोे भनाइ छ । युवाको विदेश पलायन अस्वाभाविक भएको जनाउँदै उनले त्यसलाई नियन्त्रणका लागि केही न केही कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले धार्मिक पर्यटन, पर्वतारोहण, साहसिक पर्यटनजस्ता विभिन्न क्षेत्रमा गण्डकी प्रदेशको ठुलो सम्भावना रहेको औँल्याए । प्रदेश सभा सदस्य देवका पहारीले बैङ्क तथा वित्तीय संस्थाहरू नयाँ खालका मिटरब्याजी भएको आरोप लगाउँदै ऋण लिँदाको ब्याजदर दोब्बर बनाउँदा पनि नियामक निकाय चुप लाग्न नहुने बताइन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराका लागि पर्यटन लाइफलाइन भएको भन्दै यसमा सरकारले ध्यान दिनु पर्ने बताए । उनले पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, नेपाल वायसेवा निगमले सहयोग नगरेको बताए ।

परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराईले सरकारले पर्यटनमा बजेट विनियोजन भएपनि त्यो अनुसार प्रवद्र्धन गर्न नसकेको बताए । त्यसै गरी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्र कहिले ढल्दै त कहिले उठ्दै यो अवस्थामा आएपनि अबका दिन कठिनपूर्ण रहेको बताए । उनले विना पर्यटक व्यावसाय चलाईरहेको बताए । उनले व्यावसायी पलायनको बाटोमा रहेकोले त्यसलाई रोक्न सरकार लाग्नु पर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो समय पर्यटन क्षेत्र निकै नै समस्याग्रस्त अवस्थाबाट गुज्रेको बताउँदै देशमा आएको उतारचढावले पर्यटनक्षेत्र नराम्ररी प्रभावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्