धनगढीको सेती अस्पतालमा २५ वर्षीया सुत्केरीको मृत्यु



धनगढी।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ। अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको सोमबार मृत्यु भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए। उपाध्यायका अनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो।

सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो। मृतकका आफन्तले प्रसुती वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन्। अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्