राजनीतिक नेतृत्व सच्चिएर अघि बढ



देशमा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिमा देखिएको विकृति, विसंगति र बढ्दो भ्रष्टाचार नै भएको छ । नेपाली जनताले विभिन्न समस्याका बाबजुद पनि सुख–दुःखका साथ आफ्नो जीवन निर्वाह गरिरहेकै छन् । जनताको लागि हरपल सोच्ने र अहोरात्र खट्ने सरकार पाउनु वीरबलको खिचडीजस्तै हुने गरेको छ । देशमा संघीय, संसदीय प्रणाली कायम छ । सरकार निरन्तर अस्तित्वमा छ । हिजो घोषणापत्रमा जनताका लागि राहत र प्याकेजै प्याकेज दिने बाचा गरेर निर्वाचन जिती आएका राजनीतिक दल र तिनका नेताहरुले आज जनतालाई झुक्याउने काम गरिरहेका छन् । सरकार सरकारजस्तो, प्रतिपक्षा प्रतिपक्षजस्तो र राजनीतिक दलहरु राजनीतिक दलजस्ता देखिन छाडेका छन् । यो नेपाली राजनीति तथा यसको राजनीतिक भविष्यका लागि ठूलो चिन्ताको विषय हो । आज नेपाली राजनीति विभिन्न खाले समस्या र संकटको भुमरीमा नाचिरहेको अनुभूत हुन्छ । यो अवस्थाले राजनीतिक दलहरुमा तानातान, छिनाझपटी, देखेस्–पखेस् र खोसाखोसको तनावपूर्ण स्थिति देखिन्छ । एकले अर्कालाई खसाल्ने, उचाल्ने अवस्थाले राजनीति झन् पछि झन् विकृति हुँदै गइरहेको छ । मुलुकमा विकास निर्माणका कार्यहरु पनि प्रभावकारीरुपमा अघि बढ्न सकेका छैनन् ।

यस्तो अवस्थामा राजनीतिक दल र यसका अभिभावक नेताहरुले गम्भीर भएर बेलैमा सोच्नुपर्छ र मिलिजुली समस्याको उचित समाधान निकाल्नुपर्छ । देशमा हुने हरेक क्रियाकलाप राजनीति प्रेरित हुन्छन् । राजनीति विगत, वर्तमान र भविष्य हो । विगतका शासन व्यवस्थाभन्दा यो व्यवस्था राम्रो होस् । वर्तमानमा चलिरहेको व्यवस्था र त्यो व्यवस्थाले दिएका सेवाहरुभन्दा भविष्यमा राम्रो शासन व्यवस्था होस् अनि सुविधा प्रदान गरोस् भन्ने आम जनताको चाहना हुन्छ । यी तीनवटै समयका बीचमा तुलनात्मक दृष्टिकोण साधारण जनताले पनि राखिरहेका हुन्छन् । वर्तमानलाई डो¥याउँदै भविष्यको उज्ज्वल नक्सांकन गर्ने सोच पनि राजनीति नै हो । त्यसैले कोही पनि राजनीतिक सुझबुझ र यसको लगामविना अगाडि बढ्न सक्दैन । राजनीतिले नै सबैलाई आशावादी बनाइरहेको हुन्छ । तर, यही राजनीति आजका दिनमा गम्भीर समस्या बनेर देखा परिरहेको छ । शासन व्यवस्थाको अपनत्व लिनु, प्रगतिका लागि सहकार्य गर्नु, भविष्यका लागि प्रतिबद्ध रहनु राजनीतिक दल र यसका नेताहरुको दायित्व तथा अधिकार दुवै हो । तर, यो सर्वव्यापी मान्यतालाई अस्वीकार गर्दै एक–अर्कालाई सिध्याउने, खुइल्याउने, अनावश्यक चुनौती खडा गर्ने र सधैँभरि सत्ता केन्द्रित भएर क्रियाकलाप गरिरहने भएकाले राजनीतिक दलहरुले आजसम्म प्राप्त गरेको राजनीतिक साख र विश्वास गुमाउन थालेका छन् । यसको बोध राजनीतिक दलहरुलाई समयमै हुनु जरुरी छ ।

पटकैपिच्छे सत्ता खोसाखोसको खेल खेलिरहने, एकले अर्कालाई असहयोग गर्ने र आफूहरु नै जिन्दगीभर सत्तामा रहनुपर्ने सोचले राजनीतिक दल र तिनका नेताहरुलाई आज जनताबाट टाढा गराएको छ । जनस्तरमा नेता र राजनीतिक दलप्रति गरिने÷हुने तिखो टीकाटिप्पणी र घोचपेच सामान्य बन्न गएको छ । हिजोका दिनमा आदर्शका रुपमा रहेका नेताहरु र आफ्ना भविष्य निर्माण गरिदिने पार्टी आज सबैको अविश्वास व्यक्त हुने थलो बन्न पुगेका छन् । यो कुरालाई मनन गरेर नेताहरु समयमै सतर्क हुनु जरुरी हुन्छ । तर, यही राजनीतिक सचेतनाको कमी हुन गयो भने देशको भविष्य कस्तो होला भनी परिकल्पनासमेत गर्न सकिँदैन । त्यसैले राजनीतिसँग सम्बन्धित सबै दल र नेताहरु समयमै सच्चिनु अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस्