टी-२० महिला विश्वकप छनोटमा नेपाली टोलीको विजयी सुरुवात



काठमाडौं । आईसीसी महिला टीट्वान्टी विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले अविजित ३८ रनको योगदान गरिन् । उनले ५४ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् । अप्सरी बेगमले १७ रन बनाइन् । लामो समय क्रिजमा टिकेकी उनले ३८ बलको सामना गरी एक चौका हिर्काएकी थिइन् ।

कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । उनले केवल १३ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन् । अरू खेलाडीले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् । ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दू बर्मा शून्य रनमै पेभेलियन फर्किए । पूजा महतोले पाँच रन बनाइन् ।

कविता जोशीले पनि टोलीको खातामा पाँच रन थपिन् । नेपालले अतिरिक्त रुपमा सात रन पाएको थियो । मलेसियाका लागि आइना हमिजाह हासिमले दुई विकेट लिइन् । माहिराह इजाती स्माइल, आइस्या एलिसा र निक नुर एटेलाले एक—एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्घमले सर्वाधिक २८ रन बनाइन् । ओपनर आइना हामिजाह हासिमले १४ रन जोडिन् । मस एलिसाले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् । नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई—दुई विकेट लिए । कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले पनि एक—एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्