स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गर्दैछु : मन्त्री बस्नेत



भक्तपुर । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा सुधारको प्रयासका साथ काम गरिरहेको बताएका छन् ।
आज भक्तपुर दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थलगत अवलोकन तथा निरीक्षणपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।उनले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताए ।

मन्त्री बस्नेतले केन्द्रले स्वास्थ्य तथा अंग प्रत्यारोपणका क्षेत्रमा गरिरहेको काम उल्लेखनीय र सराहनीय रहेको भन्दै यहाँ रहेको स्थान अभावको समस्यालाई मध्यनजर गर्दै भवन निर्माणका लागि जग्गा खोजी गर्न जति सक्दो चाँडो पहल गर्ने बताए । उनले मिर्गौला प्रत्यारोपण, डायलोसिस, कलेजो प्रत्यारोपण लगायतका प्रभावकारी काम गर्दै आएको यस केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता देखिएको बताए ।

मन्त्री बस्नेतले केन्द्रको समग्र अवस्था र केन्द्रले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै जनताका लागि अझै सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए । मन्त्री बस्नेतले बिरामीबाट आएको समस्या समाधानका लागि आफू लाग्ने बताए ।

अनुगमन पछि केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रको भौतिक संरचनाको विकास र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन पहल गरिदिन मन्त्री बस्नेत समक्ष अनुरोध गरे ।

निर्देशक श्रेष्ठले अस्पताल सुरु भएको १० वर्षको अन्तरालमा एक हजार १०६ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको र त्यसमा ९९ प्रतिशत प्रत्यारोपण सफल भएको मन्त्री बस्नेतलाई जानकारी गराए ।

उनले यदि मस्तिष्क मृत्यु पश्चात हुने अंग दानबाट प्रत्यारोपण हुन सकेमा बिरामीको खर्च कम हुनका साथै जिवित व्यक्तिबाट अंग झिक्न नपर्दा उसको स्वास्थ्यमा आउन सक्ने समस्या नरहने बताए ।नेपालमा बर्षेनी करीब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको र उनीहरु मध्ये केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको डा.श्रेष्ठले बताए।

निर्देशक डा. श्रेष्ठले विश्वभरी नै मिर्गौला रोगको प्रकोप बढी  रहेको सन्दर्भमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक रहेको उल्लेख गरे।

निर्देशक डा श्रेष्ठले केन्द्रले दिँदै आएको सेवा, समग्र अवस्था ,सम्भावना र समस्याका बारेमा मन्त्री बस्नेतलाई जानकारी गराए ।

मन्त्री बस्नेतले अनुगमनको क्रममा केन्द्रले सेवा प्रवाह गर्दै आएको आकस्मिक सेवा, ओपिडी, ल्याब, डायलोसिस सेवा, अपरेसन वार्ड, क्याथल्याब, पोष्ट अपरेटिभ वार्ड लगायतका वार्डहरुको अनुगमन गर्दै विरामीहरुसँग सेवाकाबारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्