फुटबल क्लबहरुले अझै रकम पाएका छैनन्



काठमाडौं । नेपालका फुटबल क्लबहरु पैसा नपाएर बन्द हुने अवस्था हुनु नै नेपाली फुटबलरहरुको विदेश जाने कारण बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीले गर्दा क्लबहरुको हाल बेहाल भइरहेको छ । क्लबहरुलाई बलियो बनाउन लाग्नु एन्फाको पहिलो जिम्मेबारी हो । यसमा एन्फा सक्रिय हुनु पर्ने हो, तर अहिलेसम्म पनि भइरहेको छैन ।

बुधबार नेपालका ए, बी र सी डिभिजन क्लबहरुले एन्फालाई चेतावनी समेत दिएर ध्यानाकर्षण पत्र बुझाएको थियो । उनीहरुले एन्फाबाट लिगको लागि दिइने तयारी खर्चको पुरा रकम नै नपाएको जनाए । यसैले क्लबहरुले तयारीको बाँकी रकम नपाएसम्म एन्फाले सन्चालन गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने चेतावनी दिए ।

ए,बी र सी डिभिजन गरी ४२ क्लब रहेका छन् । यीमध्ये ३२ क्लबले एक्यवद्धता जनाएका छन् । यसमा एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, एन्फाका पूर्व महासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर सम्मिलित छन् । यसैगरी एन्फाका पूर्व अध्यक्ष समेत रहेका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई सोही पत्र बुझाएका थिए ।

एन्फाले आयोजना गर्ने शहिद स्मारक ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च विगत लामो समयदेखि एन्फाले पुरा रकम भुक्तानी गरेको छैन । सो विषयमा एन्फा महासचिवलगायत पदाधिकारीहरुसंग पटक पटक छलफल गरेपनि भुक्तानी नभएकोले उनीहरु जिम्मेबार नदेखिएको क्लबहरुको ठम्याइ छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ,’अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण गर्दैछौ । यस बिषयमा एन्फा गम्भिर भई क्लबहरू समक्ष प्रतिबद्धता नजनाईएमा एन्फाबाट सन्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने समेत जानकारी गराउदै यो ज्ञापनपत्र बुझाएका छौ ।’

यस्तै क्लबहरुले यसै भदौ २४ गते हुने एन्फाको विशेष साधारण सभा विधान बमोजिम सम्पूर्ण सदस्यहरुको भौतिक उपस्थितिमा गराउन माग गरेका छन् । एन्फा बिधान मा स्पष्ट रुपमा विशेष परिस्थिति, महामारी र असहज अबस्थामा मात्र भर्चुअल बैठक गर्न मिल्ने ब्यबस्था छ । तर अहिले सहज परिस्थिति रहेको अबस्थामा तथा कुनै महामारी र असहज अबस्था नभएकोले भौतिक उपस्थितिमै बिशेष साधारण सभा गर्न गराउन समेत क्लबहरुले एन्फाको ध्यान केन्द्रित गराएका हुन् ।

खेलाडी पलायन

एन्फाको यस्तो गैरजिम्मेवारीको कारण नेपालका दिग्गज फुटबलरहरु धमाधम पलायन हुने क्रम बढ्दो छ । एन्फाले तयारी खर्च नदिने गर्दा क्लबहरु मारमा परेपछि कसरी प्रतियोगिता आयोजना हुनेछ त ? यस विषयमा गम्भीर हुन आवश्यक छ । प्रतियोगिता नै संचालन नभएपछि खेलाडी कसरी नेपालमा बस्न सक्ला त ? एन्फा र क्लबहरुबीचको दुरीले गर्दा खेलाडी धमाधम नेपाल छाड्दैछन् ।

क्लब चलाउनै मुश्किल भएको मध्यपुर युथ एसोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले बताए । हाल सिंह मध्यपुरमा वडा लिग गर्न तयारी गरिरहेका छन् । मध्यपुरमा १२ वडा रहेका छन् । क्लबहरु बलियो बनाउनको लागि यस्तो कार्यक्रम ल्याएको सिंहले बताए । उनले क्लबहरु बलियो भए पो खेलाडी पनि बलियो र सम्पन्न हुन्छन् । क्लब नै छैन भने खेलाडीले के गर्ला उनको प्रतिप्रश्न थियो ।

उनले बताए—एन्फाले तयारी खर्च पुरा दिनु पर्ने त्यो अहिलेसम्म भुक्तानी भएको छैन । यसले खेलाडीको मनोबल घट्छ र पलायनको क्रम बढ्छ । अहिले पनि यसमा एन्फा जिम्मेबारी देखिएको छैन । पहिला उनीहरुले क्लब बलियो बनाइदिनुप¥यो । अनि खेलाडी पनि नेपालमै खेलेर कमाउनेछन् । एन्फाले रकम भुक्तानी नगरुन्जेल हामीले प्रतियोगितामा सहभागिता नगर्ने पनि भनेर चेतावनी दिएका छौ । हेरौ के हुन्छ ?

फुटबलरको गन्तव्य अस्टे«लिया

केही वर्षयतादेखि नेपालका फुटबलरहरुले भविष्य अस्टे«लियामा देखेका छन् । उनीहरुको गन्तव्यस्थल नै अस्टे«लिया भइरहको छ । अस्टे«लियामा नेपाली खेलाडीले क्लब पनि तयार गरेका छन् र खेलिरहेका पनि छन् । नेपालका उदीयमान खेलाडी दीपकराज सिंह ठकुरी समेत अस्टे«लिया पलायन भइसकेका छन् । यसले यही स्पष्ट पार्छ कि अहिलेको नेपाली फुटबलले नयाँ पुस्तालाई पनि सम्हाल्न सकिरहेको छैन । दीपक जस्ता खेलाडी जानु भनेको यो नेपाली फुटबलको पतनको शुरुवात हो । दीपक गएको ए डिभिजन लिगमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी सावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्