मानव अधिकार आयोगले गर्‍यो बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान प्रारम्भ

घटना बारे संसदमा पनि कुरा उठ्यो 



भक्तपुर ।

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा तोडफोड भएको र सुधार गृहबाट बालबालिका भागेको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले विज्ञप्ति मार्फत घटनाको अनुसन्धान सुरु  गरेको जानकारी दिँदै बाल सुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

बाल सुधार गृहभित्र गत आइतबार रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर तोडफोड भएको र सुधार गृहबाट बालबालिका बाहिर निस्केको घटनाबारे स्थलगत अनुगमनपछि अनुसन्धान सुरु गरेको आयोगले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए । आयोगले आज गरेको स्थलगत अनुगमनको क्रममा  बाल सुधार गृहमा रहेका बालबालिका, बाल सुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यसँग प्रत्यक्ष भेटेर जानकारी लिनुका साथै बाल सुधार गृह परिसरको अवलोकन गरेको जनाएको छ ।

प्रवक्ता पोखरेलका अनुसार बाल सुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवम् सुधार गृहका कमान्डरले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावमा मृत्यु भएको अनुगमनबाट पाइएको छ ।

आयोगले बाल सुधार गृहका बालकको समूहले गत सोमबार ढुंगामुढा तथा तोडफोड गरी सुधार गृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै १० जना सम्पर्कमा आउन बाँकी रहेको जनाएको छ ।बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुन पनि सरकारलाई आग्रह गरिएको छ ।

संसदमा पनि कुरा उठ्यो

प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बाल सुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्य तथ्य बाहिर ल्याई घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बाल्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे ।

उनले भने,  ‘भक्तपुरमा सञ्चालित न्यूनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्य तथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

यस विषयमा नेपाली कांग्रेसकी सांसद कान्तिका सेजवालले प्रतिनिधिसभामा बाल सुधार गृहको सुरक्षा अवस्था प्रति गम्भीर प्रश्न उठाउँदै बाल सुधार गृहमै बालकको बाँच्न पाउने हक हनन् भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्