स्वास्थ्य क्षेत्रमा जनतले अनुभूति गर्नेगरी काम गर्छु : स्वास्थमन्त्री बस्नेत



सिन्धुपाल्चोक ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जनतले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धी वार्षिक समीक्षत्मक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मन्त्री बस्नेतले भने, ‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । राम्रो भएर नै सरकारी अस्पतालमा चाप भएको हो ।अझै राम्रो बनाउन लाग्नेछौं ।भनसुनको भरमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ । नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ ।’

मन्त्री बस्नेतले थपे, ‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था छ । माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध समेत गरेका छन् । हामीले यहाँ मेडिकल शिक्षा सहज रूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अब तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु।’

मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निःशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै बृद्धि गर्ने बताएका छन् । उनले आफ्नो अनुरोधमा बागमती प्रदेश र मधेश प्रदेशका अस्पतालहरुले समेत निःशुल्क उपचारमा सहयोग गरिरहेको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्