अस्पतालबाटै शिशु बिक्री



स्वास्थ्य सेवा सबैको पँहुचमा हुनुपर्छ भन्ने मान्यताका साथ नेपालको संविधानमा उल्लेख छ । नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खुलेका स्वास्थ्य संस्थाहरुले गरेका काम सही छन् या छैनन् भन्ने विषयमा सरकारी निकायको निगरानी हुनुपर्छ । सरकारको निगरानी र कडा कारबाही नभएकै कारण विराटनगरको ग्रिनक्रस अस्पतालबाटै एक नवजात शिशु गायब पारियो । नवजात शिशु हराएको विषयमा अभिभावकले प्रहरी प्रशासन गुहार्दा नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । यति गम्भीर विषयमा जस्तोसुकै दबाब सृजना किन नहोस् सरकारले कठोर निर्णय लिई मानव बेचबिखन गर्ने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मीका साथै खरिद गर्ने व्यक्तिलाई समेत कडाभन्दा कडा कानुनी कारबाही गर्नै पर्छ ।

अस्पतालमा जन्मेको शिशु एकाएक हराएपछि अभिभावकले चौतर्फी खोजी कार्य अघि बढाउनुका साथै प्रहरीमा उजुरी दिएकै कारण मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब सरकारले यस्ता गतिविधि गर्दै स्वास्थ्य संस्था सञ्चालन गर्ने सञ्चालकलगायत सम्पूर्ण दोषीलाई कारबाही गरी स्वास्थ्य संस्थाका नाममा मानव बेचबिखनका कार्य गर्ने स्वास्थ्य संस्था नै खारेज गर्नुपर्छ । बच्चा बिक्री गरेर पेसालाई अमर्यादित बनाउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लाइसेन्स खारेज गर्नुका साथै आजीवन कारवास गरिनुपर्छ । नवजात शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्णसहित ६ जनालाई पक्राउ गरेको छ । यो घटनाका दोषीलाई राजनीतिक दबाबका कारण छुट नदिइयोस् । यस्ता घटना गराउने व्यक्तिहरु समाज र देशका लागि भाइस हुन् । यस्ता भाइरसलाई जरैदेखि उखेलियोस् । नेपालमा भएका कानुनले कठोर निर्णय गर्न बाधा पुग्छ भने कानुन संशोधन गरेरै भए पनि अपराधीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरियोस् ।

नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका व्यक्तिमध्ये एक दीपेश मेडिकल हल सञ्चालक विराटनगर महानगरपालिका वडा नं. २ का ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण रहेका छन् । त्यसै गरी भोजपुर जिल्ला हतुवागढी गाउँपालिका वडा नं. ४ का २७ वर्षीय गोविन्द राई, विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, मोरङको कटहरी गाउँपालिका वडा नं. २ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी, सोही ठाउँकी ३० वर्षीय सूर्यनारायण राजवंशी र सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बस्ने ३८ वर्षीया निर्मला यादव पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति मानव बेचबिखन गर्ने गतिविधिमा संलग्न भएको प्रमाणित भएमा उनीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् ।

प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपियाँमा शिशु बिक्री गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले सरकारसमक्ष रिपोर्ट बुझाइसकेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका व्यक्तिहरुउपर छानबिन प्रक्रिया अघि बढाउने क्रममा राजनीतिक दबाब सृजना गरी अपराधीलाई उम्काउने खेल नखेलियोस् । अपराध गर्ने व्यक्तिहरु आफ्नो सुरक्षाको लागि जुनसुकै राजनीतिक दलको खोल ओढ्न पछि पर्दैनन् । यस्ता व्यक्तिलाई आरक्षण दिएर राजनीतिक दलहरुद्वारा बदनामी कमाई जनविश्वास गुमाउने र अपराधलाई लुकाउने काम नगरियोस् । दोषी जुनसुकै पार्टीको होस्, दोषी प्रमाणित भएको खण्डमा निष्पक्ष ढंगले कारबाही गरियोस् ।

प्रतिक्रिया दिनुहोस्