एमाले सत्ताकै लागि दिल्ली धाउँदैन् : महासचिव पोखरेल



सुर्खेत ।

नेकपा एमालेका महासचिव एवं प्रभावशाली नेता शंकर पोख्रेलले सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नभएको बताएका छन् । बुधवार सुर्खेतमा प्रदेश प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई संकेत गर्दै सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नरहेको बताएका हुन् ।

उनले भने, ‘कोही पार्टीका अध्यक्षहरु सत्ताकै लागि दिल्ली कति पटक धाउने रहेछन् । त्यो कुरा सबैलाई जकजाहेरै छ । तर हाम्रो त्यस्तो बानी छैन । मुलुक भित्रकै प्रमुख शक्तिहरूको सहकार्यमा सरकार गठन गर्ने एमालेको प्राथमिकता हो । तर एमालेलाई मात्र चौतर्फी घेराबन्दी गर्ने काम गरियो ।

यो मुलुककै शक्ति एमाले भएकाले त्यसमाथि सबै मिलेर प्रहार गर्ने काम भयो’ । उनले तत्कालीन एमाले र माओवादी बिचको गठबन्धनमा कर्णाली प्रदेशको नेतृत्व एमालेले दाबी गरेको भएपनि माओवादीको छाड्नै नसकिने अडानका कारण आफूहरूपछि हटेको बताए ।

उनले भने, ‘कर्णालीको नेतृत्वप्रति अडान नगरेको हो कि भन्ने भनाई साँचो होइन । हामी अडानका पक्षमा थियौँ । घेराबन्दीका विरुद्धमा थियौँ । जसअनुसार हामी नेतृत्वका लागि सहयोग गर्थ्यौ । राष्ट्रिय राजनीतिमा देखिएको समीकरणमा प्रमुख पार्टी मिल्नु पर्छ भन्नेमा एमाले स्पष्ट थियो । सत्ता सहकार्यका लागि कांग्रेस र माओवादी दुबैलाई एमालेले प्रस्ताव राखेको हो । तर सुरुमा बालकोट प्रचण्ड आफै आएकाले कांग्रेससँग सहकार्य नभएको हो । कांग्रेससँग पनि सहकार्य नगर्ने भन्ने पार्टीको धारणा पनि होइन । ३२ वटा दलहरू दिल्ली गुहार्नु पर्ने अवस्था नआवस भन्नेमा हामी प्रस्ट थियौँ । त्यसैले नेतृत्वका लागि हामी सहयोग गछौं भन्नेमा थियो’ ।

एमाले महासचिव पोख्रेलले सत्ता सहकार्यका लागि माओवादी तयार भएपछि कङ्ग्रेस पनि आएको थियो । तर कङ्ग्रेस भन्दा पहिले माओवादी आएकाले त्यसैसँग गठबन्धन गरियो । जसका कारण कर्णालीको नेतृत्व एमालेले गर्न नपाएको यथार्थ हो । उनले भने, ‘कर्णालीको नेतृत्वको विकास हुन अपरिहार्य हो । सापेक्ष रूपमा कर्णालीकै नेतृत्व छ । स्थायी कमिटीमा यामलाल कँडेल र गोरखबहादुर बोगटी छन् ।

उनीहरुको योगदान असाधारण छ । उनीहरुलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सकियो कि सकिन भन्ने प्रश्न स्वाभाविक हुन्छ । त्यसका लागि व्यक्ति स्वयम आफै भूगोलमा भन्दा राष्ट्रिय विषयमा उभिन आवश्यक हुन्छ भन्ने कुरा हो र त्यसमा पार्टी नेतृत्वले सहयोग गर्नुपर्छ’ ।

उनले एमालेले कर्णालीको नेतृत्व नगरेपनि कर्णाल विकास र समृद्धिको अभियानमा अग्र पंतिमा रहेको बताए । उनले भने, ‘पार्टी अध्यक्ष ओली सरकारको नेतृत्व हुँदा सामान्यीकरणको अनुदानमा कर्णालीलाई सबैभन्दा बढी प्राथमिकता दिएका थियौँ । जुन स्रोत प्रदेश आफैले आवश्यकताका आधारमा खर्च गर्न पाउँथ्यो ।

कर्णालीको विकासका सन्दर्भमा कुन दलको नेतृत्वमा पुग्दा कसरी काम भयो भन्ने महत्त्वपूर्ण हो । यसका विषयमा सबैले गम्भीर रूपमा विश्लेषण गर्न जरुरी छ’ । महासचिव पोख्रेलले अहिलेको सरकारबाट सुशासनको कल्पना समेत गर्न नसकिने बताए । उनले भने, ‘नक्कली भुटानी शरर्णाथीको मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरुभयो ।

पछि गठबन्धन भित्रकै दलहरू फस्ने भएपछि पशुपतिको जलहरी काण्ड ल्याइयो । जुन जलहरीका लागि सरकारले अनुदान मात्र ३० करोड दिएको हो । खर्च अर्ब भएको छ । जुन पशुपति विकास कोषबाट भएको थियो । रोष्टमबाट सुन पित्तल हो भनियो । तर पछि बिस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदो रहेछ भन्ने धन्दा बाहिर आयो । धार्मिक आस्था भएको स्थानको सुनको जलहरी निकासले जोख्ने काम गरियो । सांसद कति झुट रहेछन् भन्ने कुराको प्रमाणित भयो’ ।

उनले भने, ‘उक्त घटना सेलाउन नपाउँदै मुख्यव्यक्तिहरुको छानबिन सुरु हुने कुरा भयो । राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक गरियो । घरमा गएर अनुसन्धानदाता आफैले निष्कर्ष निकालेर अनुसन्धान अघि बढ्यो । त्यसमा पनि आफ्ना नेतालाई जोगाउँदै मुद्दा ओझेलमा पार्न सत्ताकै आटमा भइरहेको सुन तस्करी चर्चामा ल्याइयो । हंङकङबाट पानी तान्ने पम्प र ब्रेक सुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । त्यो पनि हामीले कर्मचारीले थाहा पाउन सकेनन् भनेर मान्दिनु पर्ने । ब्रेक सुको तौल कति हुन्छ भनेर भन्न नपाइने, कर्मचारी रि चेक भन्दा हाकिम आएर त्यो होइन भन्दा त्यो मान्दिनु पर्ने । अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नू पर्ने । यस्तो सरकारबाट सुशासनको अपेक्षा हामीले गर्नुपर्ने’?

नेकपा एमाले यति बलियो हुनुको पछि सामूहिक क्रियाकलापको परिणाम भएको उनले बताए । उनले भने, ‘नेताले निर्माण गरेको पार्टी एमाले होइन । यो पाटी निर्माणमा हरेक कार्यकर्ताको उत्तिकै महत्त्वपूर्ण भूमिका छ । अध्यक्ष जत्तिको धेरै पार्टीका नेता तथा कार्यकर्तासँग भेटेर आफ्नो धारणा बनाउने नेता नेपालमा अरू छैनन् । २४ घण्टामा १८ घण्टा खटेर काम गर्ने नेता नेपालमा कोही छ भने त्यो एमाले अध्यक्ष ओली मात्र हुनुहुन्छ । उनले नेपालमा पहिलो उपसभामुख, पहिलो राष्ट्रपति, पहिलो प्रदेश सभामुख बनाउने पार्टी एमाले भएकाले महिला, दलित, जनजाति तथा सीमान्तकृत समुदायका पक्षमा एमाले अग्रस्थानमा रहेको बताए । यद्यपि नेपाली समाजमा महिलालाई मूलधारमा ल्याउन धेरै काम बाँकी छ । त्यो चिज निरन्तरताको प्रयासबाटै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्