कुखुराको अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्रीकाे निर्देशन



काठमाडौं ।

भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ।

यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत छलफल भएको थियो। उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा देहाय बमोजिम गर्न गराउन पाँच बुँदे निर्णय जारी गरेकाे हाे  ।

एक, खुला सीमानाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने।दुई, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम आवश्यक कानूनी कारवाही गर्ने र तीन, सीमा नाकामा गस्ती निगरानी बढाउने गृहमन्त्री श्रेष्ठ बताए ।

चार, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरुलाई हटाउने। पाँच, भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने  गृहमन्त्री श्रेष्ठ  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्