सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट



काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको छ । भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने उल्लेख गर्दै उहाँले यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुने गरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

नेपाल सरकारले यो वर्षदेखि बार्षिक पूँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरिसकेको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको विकासलाई आर्थिक समृद्धिको आधारको रुपमा लिन थालिएको बताउनुभयो । भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको बताउनुभयो ।
अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उहाँले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन थालिएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले यो वर्षभित्र आइसिटी एक्जिविसन, डिजिटल च्याम्पियन, ब्यावसायिक तालिम, डिजिटल साक्षरतालगायतका कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिंदै उहाँले यसमा विभिन्न देशका अनुभवहरु नेपालका लागि फलदायी हुने बताउनुभयो । चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्याउने तयारी थालेको जानकारी दिंदै उहाँले अब फोरजीको सेवा सबै ठाउँ विस्तार गरेर फाइभजी विस्तार गर्ने बताउनुभयो ।

‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ’– मन्त्री शर्माले भन्नुभयो– ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जीटूजी, पिटूपी ९सरकार–सरकार, जनता–जनता० सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं ।’ राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताउनुभयो । कोरिया नेपालमा बैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिंदै उहाँले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताउनुभयो ।

कोरियाले इपिएसमार्फत श्रमिक लैजाने १६ देशमध्ये नेपाललाई प्रमुख देशको रुपमा राखेको उल्लेख गर्दै उहाँले कोभिड १९ अघिजस्तै नेपालमा अब कोरियाली पर्यटकहरुको संख्या पनि बृद्धि हुन थालेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको नतिजाअनुसार कोरिया विश्वमा इगभर्नेन्सको क्षेत्रमा तेस्रो मुलुक रहेको जानकारी दिंदै रादजूत तइयोङले नेपालमा पनि यसको आवश्यकता रहेको सुझाउनुभयो ।

नेपालमा सरकारी तहबाट मात्र नभई निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै पुल्चोक क्याम्पसमा सामसुङले इन्नोभेसन सेन्टरमा सहयोग गरिरहेको बताउनुभयो । कोरियाले ९० को दशकमै देशलाई आवश्यक पर्ने अप्टिकल फाइबर बिछ्याएकाले सूचना प्रविधिमा फड्को मार्न सहज भएको जानकारी दिंदै उहाँले सूचना प्रविधिको विकासमा पूर्वाधार महत्वपूर्ण हुने बताउनुभयो । भारतमा कोरियाका ठूलाठूला कम्पनीहरुले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेकाले यहाँ पनि ठूला कम्पनी भित्र्याउन सके यहाँको नेपाललाई फाइदा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्