प्रतिपक्ष दलले संसद अवरोध गर्दा मुलुकमा अस्थिरता देखियाे : माधव नेपाल



काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि भएको दाबी गरेका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले विद्रोह नगरेको भए प्रतिगामीलाई परास्त गर्नेदेखि संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सम्भव नुहने उल्लेख गरेका छन् ।

 नेपालकाे कम्युनिस्ट आन्दोलन अहिले विभाजित अवस्थामा रहेको उल्लेख गर्दै उनले वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा सशक्त क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता रहेको जनाएका छन् ।

साथै उनले सत्तारुढ गठबन्धन संयुक्त मोर्चा नभएको तर तात्कालिक राजनीतिक कार्यगत एकता भएको जनाएका छन् । उनले अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने तथा गठबन्धनबाट एकीकृत समाजवादी बाहिर निस्कने अवस्था नरहेको जनाएका छन् ।

यस्तै संसदमा प्रतिपक्ष दलको भूमिका सकारात्मक नरहेको जनाउँदै उनले मुलुकमा अस्थिरताका बादल घुमिरहेन सक्ने आशंका व्यक्त गरेका छन्।  त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र यथास्थितिवादी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरु उपस्थित छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यी शक्तिहरुबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ । यसरी चलिरहने द्वन्द्वले गर्दा मुलुकमा अस्थिरताका बादल घुमिरहन सक्ने अवस्था छ । अहिले प्रतिपक्षमा रहेका दलहरुले जस्तासुकै विषयमा पनि संसद अवरोध गर्ने गरेबाट त्यस्तै संकेत पाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्