मरिण गाउँपालिकाको खण्डन : उपाध्यक्षले लगाएको आरोपमा सत्यता छैन



सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले उपाध्यक्ष विमला माझीले प्रमुख प्रशासकीय अधिकृतमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको जनाएको छ ।

गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति जारीमार्फत प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले उपाध्यक्ष माझीलाई कुनै अपशब्द प्रयोग नगरेको जनाएको हो ।

गाउँपालिकाका उपाध्यक्ष माझीले सोमबार बिहान पत्रकार सम्मेलन गरेर गएको भदौ १ गते भएको समीक्षा कार्य दर्जीले अपशब्द प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस मरिण गाउँपालिका कार्यसमितिले पनि आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाका उपाध्यक्षलाई प्रमुख प्रशासकीय अधिकृत दर्जीले अपशब्द प्रयोग गरि कार्यालयका सबै कागजातहरु हेर्ने आधिकार छैन भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिएको भन्ने आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष माझीले भन्नुभयो, ‘जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुबीच भएको छलफलका क्रममा मैले सूचना तथा सञ्चारका क्षेत्रमा खर्च भएको २८ लाख रुपियाँको बिल तथा भरपाई, आर्थिक प्रगति प्रतिवेदन, टेण्डर सम्झौता, सार्वजनीक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा बुझ्न प्रमाणित गर्ने आवश्यक कागजात सहितको सूचना माग गरेको थिए ।’

तर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले सबै कागजातहरु उपाध्यक्षलाई हेर्ने अधिकार नभएको भन्दै आफूलाई चोट पुग्ने शब्दहरुको प्रयोग गरि झर्किलो जवाफ दिएको उपाध्यक्ष माझीले बताउनुभयो ।

गाउँपालिकाले उपाध्यक्ष माझीले पत्रकार सम्मेलनमा व्यक्त गरेको भनाइ र नेपाली कांग्रेसद्धारा जारी प्रेस विज्ञप्तिमा सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।

गाउँपालिकाका प्रवक्ता कमलबहादुर आले मगरको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ, ‘भदौं ४ गते वसेको मरिणगाउँ कार्यपालिका र शाखा प्रमुख, वडासचिव, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलगायत मरिण गाउँपालिकामा कार्यरत कर्मचारीहरुको संयुक्त बैठकले समेत नेपाली कांग्रेसद्वारा जारी प्रेस विज्ञप्ति र उपाध्यक्ष्यज्यूले गर्नुभएको पत्रकार सम्मेलनमा व्यक्त भनाइमा सत्यता नरहेकोले सोको खण्डन गरिएको छ’ ।

असहमतिका विषयमा छलफलद्वारा समस्याको समाधान गर्ने विकल्प हुँदाहुँदै उपाध्यक्षले राजनीतिक रुपमा प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन गर्नु मरिणको समृद्धिको बाधक र दुःखदायी कुरा भएको विज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिकाले कर्मचारी जनप्रतिनिधिको प्रतिस्पर्धी नभई सहयोगी भएकाले विनाआधार, कपोकल्पित ढंगबाट आरोप लगाइएको भन्दै भत्सर्ना गरेको छ ।

कांग्रेस जारी प्रेस विज्ञप्ति र उपाध्यक्ष्यज्यूले गर्नुभएको पत्रकार सम्मेलनपछि सामाजिक सञ्जालमा आएका टीकाटिपणीले आफ्नो चरित्रहत्या भइरहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत दर्जीले आपत्ति समेत जनाउनुभएको छ ।

उपाध्यक्ष माझी २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्