पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान



काठमाडौँ।

सर्वोच्च अदालतको साउन २१ गतेको आदेशपछि पक्राउ पुर्जी जारी गरिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै उनीसँग सीआईबीले बयान लिएको हो।

सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् ।

‘अन्तत: बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ, ‘ उनले लेखेका छन्, ‘चाहिएको बेला आवश्यक सहयोगका लागि तयार छु ।’

जोशी सोमबार बयान दिनका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पुगेका थिए। सीआईबी कार्यालयमा आफैं पुगेका जोशीलाई दिउँसो फाइल गइसकेको भन्दै उनलाई फर्काइएको थियो।

प्रतिक्रिया दिनुहोस्