पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ : आरजु राणा



धनगढीमा।

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छिन ।

सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा राणाले भनिन् , “जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ । तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ ।”

उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिइन् । उनले भनिन, “म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ ।”

नेत्री डा राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिइन् । अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताइन् ।

अर्काे एक छुट्टै प्रसङ्गमा नेत्री राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफ्ना विरुद्ध राजनीतिक षड्यन्त्र हुने गरेको गुनासो गरिन् । उनले भनिन्, “मैले कहीँ कतै कुनै गल्ती गरेको छैन । राजनीतिकरूपमा जे गरेको छु आफ्नो पार्टी तथा देशका लागि गरेको छु, तर पछिल्लो समयमा मेरा विरुद्धमा षड्यन्त्र हुने गरेको छ । मेरा विरुद्धमा अनर्गल प्रचारमात्र हुने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्