सिक्किमका प्रितम मेरो भ्वाइस युनिभर्स थाइल्यान्डकी खुसी डान्स युनिर्भस



नेपालको हालसम्मकै सर्वाधिक धन राशिको पुरस्कार राखिएको रियालिटी गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स तथा नृत्यतर्फको मेरो डान्स युनिर्भसको अन्तिम स्पर्धा सम्पन्न भएको छ।

शनिबार साँझ ललितपुरको गोदावरीस्थित सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा गायनतर्फ सिक्किमका प्रितम राई विजेता बनेका छन्। प्रतिस्पर्धामा विजयी भएसँगै राईले नगद एक करोड रुपियाँ पुरस्कार जितेका छन्। प्रतियोगितामा भारतका शिशिर ठटालले फस्ट रनर्सअप भई ३० लाख, शरद हुमागाईंले सेकेन्ड रनर्सअप भई २० लाख, परेश राईले थर्ड रनर्सअप भई १० लाख र भारतका साईराज खातीले फोर्थ रनर्सअप भई पाँच लाख रुपियाँ पुरस्कार जितेका छन्। प्रतियोगिताको निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा रहेका थिए।

त्यस्तै, मेरो डान्स युनिभर्समा थाइल्यान्डकी खुसी कार्की विजेता भएकी छिन्। सो उपाधिसँगै उनले एक करोड रुपियाँ पुरस्कार जितेकी छन्। प्रतियोगितामा बेल्जियमका देवी गर्बुजा मगर नेतृत्वको समूह फस्ट रनर्सअप भएको छ। सो टिमले नगद ३० लाख रुपियाँ जितेको छ। प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चा नेतृत्वको समूहले सेकेन्ड रनर्सअप भई २० लाख, गोरखाका स्वस्तिक परियारले थर्ड रनर्सअप भई १० लाख र महोत्तरीका नेसन सुस्लिङ मगरले फोर्थ रनर्सअप भई पाँच लाख रुपियाँ पुरस्कार जितेका छन्। इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको प्रतियोगिताको ग्रान्ड फिनालेमा समूह नृत्यतर्फ भने नेपाल प्रहरी विजेता बनेको छ। सो समूहले २० लाख रुपियाँ पुरस्कार जितेको छ। त्यसैगरी, नितृ कला प्रतिष्ठान (धरान) ले फस्ट रनर्सअप भई १० लाख र भारती कल्चर ग्रुप (भारत) ले सेकेन्ड रनर्सअप भई पाँच लाख रुपियाँ पुरस्कार जितेको छ। मेरो डान्स युनिभर्समा मिथिला शर्मा, दिलीप रायमाझी, प्रियंङ्का कार्की, केकी अधिकारी, शंकर बिसी र नरमान राई निर्णायक रहेका थिए।

कार्यक्रमका प्रमूख अतिथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गर्दै संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र संवद्र्धधनका लागि एक महाअभियान भएको चर्चा गरे। कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै विभिन्न मन्त्री र राजनीतिक दलका नेताको सहभागीता रहेको थियो। प्रतियोगिताको लागि फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा चयन गरी गायन र नृत्य दुवै विधामा एक सय २० जना कलाकारका विच प्रतिस्पर्धा गराएको थियो।

प्रतिक्रिया दिनुहोस्