शिक्षामा लगानी अनुसारको प्रतिफल आएन : आरजु राणा



धनगढी।

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन ।

धनगढीमा आज आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा डा राणाले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर सो लगानीअनुसार परिणाम भने प्राप्त गर्न नसकिएको यथार्थ प्रस्तुत गरिन् ।

उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिङ्गो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणाले भनिन्, “एकातिर १२ कक्षा पास गरेपछिको अवस्था यस्तो छ भने अर्कातिर बालबालिकामा कक्षा छोड्ने गरेको अवस्थामा कमी ल्याउन सकिएको छैन । त्यसैले यी महत्त्वपूर्ण विषयमा अब गम्भीर भएर सोच्नुपर्ने र शिक्षा प्रणालीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने अवस्था छ ।”

त्यसैगरी शिक्षा प्रणालीअन्तर्गत नै सरकारले अपाङ्गता भएका व्यक्तिलाई कसरी शिक्षाको मूल प्रवाहमा ल्याउन सकिन्छ र बालबालिकाका लागि आवश्यक बजेट के कसरी विनियोजन गर्न सकिन्छ भन्ने विषयमा पनि सरकारले उचित कदम चाल्नुपर्नेउनले  बताइन् ।

प्रतिक्रिया दिनुहोस्