बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका बस्नेतको मृत्यु 

शङ्कास्पद मृत्यु भन्दै आफन्तको आन्दोलन, स्थिति तनावपूर्ण



भक्तपुर ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सानोठिमिस्थित बालसुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थलीका १८ वर्षिय कमल बस्नेतको मृत्यु सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त पाठक र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोक कुमार पोखरेल सदस्य सचिव रहेका छन् ।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा  छानबिन समिति गठन गरेको हो ।
जिप्रकाका प्रशासकीय अधिकृत उर्मिला खतिवडाले एक प्रेस विज्ञप्ति जारी गरी समिति गठन गरेको जानकारी दिएकी छिन् ।

बस्नेत बिरामी भई उपचारका लागि मध्यपुर थिमि ३, गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो ।
बलात्कारको आरोपमा सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका स्थायी बासिन्दा बस्नेतको रहस्यमय मृत्यु भएको हो ।

आइतबार बस्नेतको मृत्युपछि बाल सुधार गृह तनावपूर्ण बनेको थियो । बाल सुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर रहेका आफन्तले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

सुधारगृहले परिवारलाई मृत्यु भएको खबर दिएको भएपनि मृत्युको कारण पुस्ट्याइँ हुन नसकेको भन्दै आफन्त आक्रोशित भएका हुन् । घटना बुझ्न जाँदा प्रहरीले उल्टै दुर्व्यवहार गरेको मृतकका आफन्तले आरोप लगाएका छन् । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने आफन्तहरूको माग छ । मृतकका मामा सन्तोष विष्टले घटना शङ्कास्पद रहेको भन्दै सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने माग गरे।

सुधार गृहका कर्मचारीले बस्नेतलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् ।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए । मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको डिएसपी पाठकले बताए ।

प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद देखिँदैन तर पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढ्ने उनले बताए ।समितिलाई ७ दिनमा छानबिन गरेर रिपोर्ट पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्