सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँछ : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै टुंगोमा पुर्‍याउने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताए ।

‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ । छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित नहुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ ।’

उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे ।

‘मैले संसद्मा सम्बोधनमै यो विषय प्रष्ट राखिसकेको हुँ, हामी कहाँ यस्तो सांगठनिक अपराधमा अभियोजनकालागि ६० दिनको समय हुन्छ । त्यसमध्ये राजस्व अनुसन्धानले नै २० दिनको समय गुजारिसकेको छ । अब बाँकी रहेको ४० दिन हो, त्यसमा पनि सीआईबीले नै काम गर्ने भनेको ३५ दिन मात्रै हो,’ उनले भने, ‘तर मलाई लाग्छ, सीआईबीले नै यो प्रकरणलाई टुंगोमा पुर्‍याउँछ ।’

प्रतिक्रिया दिनुहोस्