एआईजिपीको सरुवा नियमित प्रक्रिया हो : उपमहासचिव शर्मा



दोलखा।

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले प्रहरीहरुको सरुवाको विषय नियमित प्रक्रिया भएकोले त्यसलाई अन्य विषयसँग जोडेर हेर्न नहुने बताएका छन् ।

पार्टी अभियानको क्रममा दोलखा आएका उपमहासचिव शर्माले हालै भएको एआईजिपिहरुको सरुवा भुटानी शरणार्थी प्रकरणसँग नजोडिएको बताए । विभिन्न मिडियाहरुमा आएजस्तो एआईजिपिको सरुवा भुटानी शरणार्थी प्रकरणसँग जोडिएको छैन यस्तो हुँदैन– उपमहासचिव शर्माले भने।

उपमहासचिव शर्माले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकमा सुशासन कायम गर्न भ्रष्ट्राचार नियन्त्रण अभियान सुरु गरेको उल्लेख गर्दै  नेकपा माओवादी केन्द्रका नेताहरुको सम्पति समेत छानबिन गरिनुपर्ने बताए ।

उपमहासचिव शर्माले संघियतापछि जिल्ला सदरमुकामहरुमा रहेका विभिन्न कार्यालयहरु विस्थापित भएको र पायक नपर्ने ठाँउहरुमा कार्यालय राखिएको विषय संवेदनशील रहेको उल्लेख गर्दै  प्रदेश सरकारले हरेक जिल्लामा एकीकृत ढङ्गले कार्यालय सञ्चालन गर्नुपर्ने बताए ।

 विनाशकारी भूकम्प र कोरोना महामारीको प्रभावले मुलुक आर्थिक रुपमा समस्याग्रस्त बनेको उल्लेख गर्दै  पूर्वअर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले यस्तो अवस्थामा बैङ्क तथा वित्तीय संस्थाहरुले व्यवसायीहरुलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने बताए ।

उपमहासचिव शर्माले दोलाखको शैलुङमा अन्तर्राष्ट्रिय स्तरको योग केन्द्र स्थापना गर्ने, कालिञ्चोकसम्मको सडक विस्तार गर्ने, जिरी, दोलखा भीमेश्वर लगायतका पर्यटकीय केन्द्रहरुको प्रवर्द्धन गर्ने कुरामा आफूले पहल गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्