नेताहरु गन्हाउने फोहोरको डंगुर :  रवि लामिछाने



भद्रपुर। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना तथा ठूला पार्टीका नेताहरु पहाड नभएर एउटा गन्हाउने फोहोरको डंगुर भएको आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ३ स्थित वनियानी बजारमा शनिवार आयोजना गरेको सङ्गठन निर्माणमा अवसर र चुनौती कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्  ।उनले पुराना पार्टीका नेताहरू फोहोरको थुप्रो भएको संज्ञा दिएका छन्  ।

पूर्वगृहमन्त्री तथा चितवन क्षेत्र नम्बर २ का सङ्घीय सांसद समेत रहेका  लामिछानेले आउँदो ०८४ सालको निर्वाचनमा फोहोरलाइ सफा गरिसक्ने दाबी गरे । हालसम्म २१ वटा फोहोरको थुप्रो सफा गरिसकेको बताए । उनले पुराना नेताहरुले अवैध सम्पत्ति लुकाउन  लागि परेको आरोप समेत लगाए । पुराना राजनीतिक पार्टीका नेताहरू ३२ वर्ष लगाएर भेला पारेको अवैध सम्पत्ति लुकाउन बल गरिरहेको उनको भनाइ थियो । देशलाई कङ्गाल बनाएर थुपारेको सम्पत्तिको हिसाब  खोज्ने उनले दाबी गरे ।

पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन भएको लामिछानेले बताए । देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएको उनको भनाइ थियो । पुराना राजनीतिक दलका अनैतिक सेटिङ्ले नै युवामा देशभित्र केही गर्ने जाँगर हराएको  बताए ।

चितवनमा चलाएको ब्लु बसको विषयमा स्पष्ट पार्दै लामिछानेले सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहारको घट्ना हुन नदिन महिलाका लागि मात्रै ब्लु बस चलाएको बताए । अनेकौँ मुद्दा चलाएर मुद्दाको व्यापार बन्द भएपछि लालछना लगाउने पसल सुरु गरेको उनको आरोप थियो ।

कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईँले अब राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य पार्टीले देश बनाउन नसक्ने ठोकुवा गरे । नातावाद कृपावाद गरेर कार्यकर्ता जोगाइरहने अन्य पार्टीमा देखिएको उल्लेख गर्दै पार्टी हित विपरीत कुनै प्रमाण फेला परेमा जुनसुकै तहका नेतालाई घर पठाइने उनको भनाइ थियो ।

त्यसैगरी सांसद निशा डाँगीले नयाँ घरमा बस्ने कि भत्केको घरमा बस्ने आफै निर्णय गर्न सुझाव दिए । मेची प्रादेशिक अस्पतालको विषय पहिलो पटक संसद भवनमा उठाएको उनले बताए । अबको कार्यदिशा देशमा सुशासन ल्याउने तर्फ लागिपरेको उनको भनाइ थियो ।

पार्टीले शुक्रवार र शनिवार झापाका पाँच वटै क्षेत्रमा खुला सभाको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्