सहरी योजना आयोगको उपाध्यक्षमा डा. राजभण्डारीलाई नियुक्त गर्ने निर्णय



काठमाडौँ । 

काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राज भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । आज बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उहाँलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त थियो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राज भण्डारीलाई नियुक्त गरिएको हो ।

डा. राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । उनले स्नातकोत्तर पुल्चोक इन्जिनियरिङ् कलेजबाट गरेका हुन्।

नेपाल इन्जिनियरिङ् कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका राजभण्डारीसँग बिमानस्थल, ठूला भवन, पुललगायत ठूला परियोजनाहरुको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन निर्माण, स्ट्रक्चरल डिजाइन, सामाजिक तथा जलविज्ञान अध्ययन, डिटेल इन्जिनियरिङ सर्भे, आर्किटक्टलगायतका प्राविधिक क्षेत्रमा काम गरेको अनुभव छ ।

गौतम बुद्ध विमानस्थल निर्माणमा परियोजना प्रबन्धक भएर डिजाइन, विश्लेषण, पुनरावलोकन र अनुगमन निरीक्षकको काम गरेका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन, समीक्षा (रिभ्यु), सुपरिवेक्षणमा उनी थिए । लोकसेवा आयोग केन्द्रीय कार्यालयको निर्माण निरीक्षणका (कन्स्ट्रसन सुपरभाइज) लागि परामर्श सेवा, मनमोहन शिक्षण विश्वविद्यालय भवनको गुरुयोजना निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, स्ट्रक्चरल डिजाइन, आर्किटेकलगायतका ठूला भवन निर्माणमा कामको अनुभव छ । सिंहदरवार मूल भवन, पार्क भ्यु होराइजन अपार्टमेन्ट लगायत विभिन्न भवनहरूको भूकम्पीय सबलीकरण (रेट्रो फिटिङ्) का लागि काम गरेका उनको प्राविधिक दक्षता वीरेन्द्र नगरको बसपार्क, चतरा कोशी पुल निर्माणमा प्रयोग भएको छ ।

त्यस्तै तेङ्ग्रा खोला पुल, सेहारा खोला पुल, सुनसरी खोला पुल, करम खोला पुल, कामदेही नदी पुल, बन्टुवा खोला पुललगायतका पुलहरूको सम्भाव्यता अध्ययन र डिटेल इन्जिनियरिङ सर्भे गर्दा उनले सामाजिक र जलविज्ञान अध्ययनको अनुभव लिएका छन् ।

आयोगमा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संसाधन जस्ता क्षेत्रको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष र सदस्यहरु नियुक्त गर्न सकिने व्यवस्था छ । सहरी विकास तथा सहरी योजना, कानुन, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तर्राष्ट्रिय मामिलाजस्ता क्षेत्रलाई आधार मानेर त्यस क्षेत्रमा योगदान दिन सक्ने विज्ञलाई नियुक्त गर्न सकिन्छ ।

सन्तुलित विकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोगले काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्