सिन्धुलीको गोलन्जोरमा सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस स्थापना



काठमाडौं ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना भएको छ ।प्रतिनिधि सभा सदस्य माननिय लेखनाथ दाहाल (राजन)ले बिहीबार बेशको उद्घाटन गरेका हुन् ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करीव ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ ।

काठमाडौंदेखि करीव २ सय १० किलोमिटर बर्दिवास सम्मको सिन्धुली बिपी हाईवेमा हुनसक्ने अन्य घटनाहरुको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापना बेश स्थापना भएको हो । सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरा गरी ७ ठाउँमा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको छ ।

मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एक-एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौंमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक-एक प्लाटुन, सम्पूर्ण गणहरुमा एक-एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एक-एक सेक्सन आवश्यक सामाग्री सहित तालिम प्राप्त विपद् उद्धार टोली तयारी हालतमा राखेको छ । यसैगरी रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवनमा समेत विपद् उद्धार टोली परिचालित छ ।

प्रतिक्रिया दिनुहोस्