‘खुला सीमा बाधा होइन, सुविधा बन्नुपर्छ’ : केपी ओली



काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत खुला सीमानाबाट दुई देशका सीमावर्ती क्षेत्रका जनताहरूले लाभ लिन पाउनुपर्ने बताउनुभयो । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार राजधानीमा आयोजना गरेको समारोहमा बोल्दै एमाले अध्यक्ष ओलीले सीमा क्षेत्रका जनताले असुविधा भोगिरहनु परेको भन्दै खुला सीमा सुविधा बन्नुपर्नेमा जोड दिनुभयो ।

खुला सीमाका समस्यालाई आपसी छलफलबाट समाधान गर्नुपर्ने सुझाव दिंदै उहाँले भन्नुभयो– ‘खुला सीमाना जनताका लागि सुविधा बन्नुपर्छ, बाधा होइन । छिमेकी देशले एक अर्काको सरोकार, चिन्ता र चासोलाई बुझेर जायज ढंगबाट समाधान गर्नुपर्छ ।’समारोहमा जनमत पार्टीका अध्यक्ष सी के राउतले सीमा क्षेत्रका दुबैतर्फका बासिन्दाको समस्या समाधानका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा नयाँदिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरी भारतीय प्रधानमन्त्री मोदीलाई १३ पाने ज्ञापनपत्र बुझाएको स्मरण गर्दै भन्नुभयो– ‘सीमा क्षेत्रमा आवतजावतमा समेत कठीनाई छ ।

दुई छिमेकी देशबीचको सम्बन्ध सुधार गर्न ठूलाठूला कार्यक्रम गरेर, भाषण गरेर मात्र हुँदैन, सानातिना प्राविधिक कुराहरूमा पनि सुधार गर्नुपर्छ ।’ उहाँले कार्यक्रममा भारतका स्वतन्त्रमा नेपाली नेताका साथै सप्तरीको जनताको पनि ठूलो योगदान रहेको जिकिर गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले पनि सीमा क्षेत्रको असुविधा हटाउनुपर्नेमा जोड दिनुभएको थियो ।

 

समारोहमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारतको स्वतन्त्रता संग्राममा योगदान पु¥याएका नेपाली नेताहरूको स्मरण गर्दै भारतको विकाससँग नेपालको विकास पनि जोडिएको चर्चा गर्नुभयो । कार्यक्रममा महिला सशक्तिकरण एवं नारी जागरणकी प्रखर अभियन्ता भारतकी नीतु चोपडालाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्