धादिङमा ४१ करोड भन्दा बढी बक्यौता महसुल, विद्युत् चोरी गर्नेसँग १४ लाख असुली



धादिङ । 

धादिङमा विद्युत् चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपछि कारबाही संख्यासमेत बढेको छ ।

४१ करोड भन्दा बढी विद्युत महशुल उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धादिङले विद्युत् चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९-८० मा चोरी नियन्त्रण, बन्द मिटर फेरिने, तारले छोएका रुख काटिएको (बुस कटिङ), नाङ्गो तारलाई कालो तारमा रुपान्तरण र ट्रान्सफरमर थप गरेर नियन्त्रण गरिएको जनाएको छ। धादिङमा ६ सय ४४ थान बन्द भएका मिटरसमेत फेरिएको छ ।

विद्युत् चोरीमा  गर्नेमा  २ सय ९४ जनालाई कारबाही गरी १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल गरेको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।

यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत् प्राधिकरण धादिङले १ सय २३ जनालाई विद्युतचोरी अन्तरगत कारबाही गरेको थियो । ११ करोड २२ लाख ९१ हजार ६ सय ९ युनिट विद्युत् बिक्री गरी १ अरब २ करोड २ लाख ८२ हजार ८ सय ४६ को विद्युत् बिक्री गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ।

१ हजार ७ सय ४८ जनाको गत आवमा विद्युत् लाइन काटिएकोमा १ सय ७७ ग्राहकले अझैसम्म पनि विद्युत् रकम भुक्तानी गरेर लाइन जोडेका छैनन् । १ सय ३ जनालाई विद्युत् प्राधिकरणले धादिङमा कालोसूचीमा राखेको छ। कालोसूचीमा राखे पछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत् सेवा नदिने नियम समेत रहेको पाइएको छ ।

धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । विद्युत् लाइन काटेपछि नेपाल विद्युत् प्राधिकरणले ४ करोड २६ लाख ७४ हजार २ सय ४० रुपैयाँ असुली गरेको पाइएको छ। कालोसूचीमा परेका ग्राहकबाट ३७ लाख १२ हजार ३ सय १ रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

धादिङमा ४१ करोड ३८ लाख ४५ हजार६ सय १६ रुपैयाँ विद्युत्को उठ्न बाँकी रहेकोमा युनाइटेड सिमेन्टको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत् महसुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्