आँखा पाक्ने रोगको संक्रमणका कारण मध्यपुर थिमिका विद्यालय ५ दिन बन्द



भक्तपुर ।

आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै मध्यपुर थिमि नगरपालिकाभित्रका नीजि तथा सामुदायिक विद्यालय ५ दिनका लागि बन्द भएका छन् ।

आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा फैलिएपछि सरोकारवालाहरुसँग छलफल गरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले साउन ३१ गतेदेखि भदौ १ गतेसम्म थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसअघि नगरपालिकाले गत आइतवार साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । दुई दिनमा संक्रमण नियन्त्रणमा नआएपछि मंगलवार नगरप्रमुख स्तरिय निर्णय गर्दै थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

नगरभित्रका आँखा अस्पताल, स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी, नीजि विद्यालयको संगठन प्याव्सन, सामुदायिक विद्यालयका प्रधानाध्यापक र अन्य सरोकारवालाहरुसँगको छलफलमा आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस)को संक्रमणको दर झनै बढेको र रोगको संक्रमण फैलिएको निष्कर्ष निस्किएपछि संक्रमण रोकथाम र चेन ब्रेकको लागि थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

उनले शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम ३ अनुसारको बिदाबाट कट्टा हुने गरी बिदा दिएको बताए । संक्रमण बढेपछि नगरपालिका मातहतका १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द भएका छन् । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टका अनुसार करिब २१ हजार विद्यार्थी संक्रमित हुनबाट जोगाउन विद्यालय बन्द गर्नुपरेको बताए ।

हरेक दिन १५ देखि २० जना विद्यार्थी आँखा पाक्ने रोगबाट संक्रमित भएको र शिक्षकसमेत संक्रमित हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख भट्टको भनाई छ ।प्याब्सन नगर समितिका अध्यक्ष एवं आदर्श जनप्रेमी स्कुल कौशलटारका प्रिन्सिपल निलेश आचार्यले विद्यालयमा आँखा पाक्ने समस्या ह्वात्तै बढेपछि नगरसमक्ष विद्यालय बन्द गर्न अनुरोध गरेको बताउनुभयो । आफ्नै विद्यालयमा कक्षा ११ र १२ मा ५८ जना र कक्षा १ देखि १० सम्म ६८ जना आँखा संक्रमणकै कारण अनुपस्थित भएको उनको भनाई छ ।

आँखा पाक्ने रोगको संक्रमण दर बढेको र यसबाट विद्यार्थीहरु बढी प्रभावित भएको पाइएपछि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले सूचना जारी गरी पहिलो चरणमा संक्रमणको चेन ब्रेक गर्नपर्ने भएकाले विद्यालय बन्द रहने जानकारी गराएको छ । सुचनामा भीडमा नजान, संक्रमित व्यक्तिको सम्पर्कबाट बच्न, संक्रमितको सामान प्रयोग नगर्न र सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा आउने आँखाका बिरामीहरुमा ५० प्रतिशत भन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्