सुन तस्करी प्रकरण- उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग एमालेको ‘बटम लाइन’

‘नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा’



काठमाडौं । सय किलो सुन तस्करीको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग बनाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी एमालेले ‘बटम लाइन’ बनाएको छ । सरकारका पछिल्ला क्रियाकलाप सुन तस्करीको छानबिन गर्नेभन्दा पनि तस्करलाई संरक्षण गर्ने खालका देखिएकाले एमालेले उच्च स्तरीय छानबिन आयोग ‘बटम लाइन’ बनाएको अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो ।

एमालेको संसद् अवरोध, सय किलो सुन तस्करी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा पार्टी कार्यालय च्यासलमा आइतबार विशेष पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले सय किलो सुन काण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन आयोगबिना सम्भव नहुने बताउनुभयो । ‘एमालेले सय किलो सुन तस्करीको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग बनाउनुपर्ने भनेको हो’, उहाँले भन्नुभयो– ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको होइन, एमालेलाई सरकारको चिन्ता होइन, देशको अवस्थाको चिन्ता हो । एमाले सत्तामोह, सत्ता लोलुपता छैन । तर, सत्ता पक्षले जे गरे पनि हुन्छ भन्ने चल्दैन । सुन काण्ड निष्पक्ष छानबिन हुनुपर्छ । त्यसका लगि हामीले हाम्रा कार्यकर्ता राख्नुपर्छ भनेका छैनांंै, पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र व्यक्तिहरूको सहभागितामा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ त्यो एमालेको ‘बटम लाइन’ हो ।’

सुन तस्करीका विषयमा सरकारका मान्छेहरू संलग्न रहेको दाबी गर्दै अध्यक्ष ओलीले विमानस्थलमा चेकजाँच गर्दा यात्रुको शरीरमा लगाएका सबै वस्त्रसमेत चेकजाँच हुने अनि सुन नचिन्ने हुन्छ भनी प्रश्नसमेत गर्नुभयो । अहिलेको संसद्को अवरोध प्रतिपक्ष बोल्यो भनेर र सुन तस्करीका घटनाहरू सिलसिलेबार ढंगले आउने भए भनेर सत्ता पक्षबाटै सदन चल्न नदिइएको उहाँको आरोप छ । सदनमा सुन काण्डका विषयमा बोल्ने सांसदहरूलाई सरकारले गिरफ्तासमेत गर्न थालेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय विमानस्थल गेल्डेन टच बन्न थालेको छ, जे छोयो सुन, भन्सारबाट अहिले जे ल्याउँदा पनि सुन भेटिने गरेको छ । चुरोटदेखि जुत्ता, ब्रेक–सु, पेटी, जेमा पनि सुन भेटिन्छ । यो तरिका देश रित्याउने मामिला हो । निष्पक्ष छानबिन गर्न किन नहुने ? भ्रष्ट्राचारको जरो कहाँ छ टुप्पोटुप्पो हेरेजसो गरेर हुन्छ ?’

सदनमा सुन काण्डको विषय प्रवेश भएपछि सत्ता पक्षबाटै अवरोध भइरहेको समेत ओलीले टिप्पणी गर्नुभयो । सरकारले गरेका सबै गल्तीहरूलाई ठीक छ भनेर संसद्मा प्रतिपक्ष बसी नरहने भन्दै उहाँले थप्नुभयो– ‘संसद् निदाएर बस्ने ठाउँ हैन, संसद् जे भए पनि चलोस् न त भनेर चुप लागेर बस्ने थलो होइन, देश र जनताका पक्षमा आवाज उठाउने थलो हो । त्यसकारण एमालेले देशको अवस्थाका बारेमा बोल्न खोज्दा संसद्मा सत्तापक्षका सांसदहरू उठेर हो–हल्ला गर्ने र प्रतिपक्षको आवाज बन्द गर्ने गर्दा संसद् अवरोध हटेको छैन । बरू सदनमा सुन काण्डका कुरा उठाउँदा सत्ता पक्षकै सांसदसमेत गिरफ्तार गरेर हामीलाई तर्साइएको छ । सांसद सुनील शर्माले सुन तस्करीमा संलग्न मन्त्रीहरूको राजीनामा माग्दा २५ वर्षअघिको कुरालाई लिएर एउटा कार्यकर्तालाई उजुरी गर्न लगाएर सभामुखलाई जानकारी नै नदिई बहालवाला सांसदलाई जालीमुद्दा लगाएर गिरफ्तार गरिएको छ ।’

सरकारकै मान्छेहरूको संलग्नतामा दैनिक सय किलो सुना भित्रिने गरेको उहाँको भनाइ छ । सरकारले एउटा नाकाबाट एकपटक आएको सय किलो सुन काण्डलाई देखाएर अनेकन काण्डहरू गरिरहेको भन्दै गृहमन्त्री, अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । ‘अहिले सरकारले एउटा आइटम देखाएर भित्र सारा धन्दा चलाइरहेको छ’, यसअघि ओलीले भन्नुभयो– ‘एउटा नाकाबाट दिनमा सय किलो सुन आइरहेको छ । सरकार मौन छ । अरू नाकाहरू चेक नै हुँदैन । राजस्व किन संकलन हुँदैन भन्दा भन्सारबाट सामान आयात नै हुँदैन अन्य ठाउँबाट आयात हुने गरेको छ । सय किलो सुन तस्करीको काण्ड देखाएर सरकारले अनेकन काण्डहरू गरिरहेको छ ।’

एमालेको सरकारले ३३ किलो सुन छानबिन समिति बनाएर तस्करीमा संलग्नलाई कारबाही गरेको स्मरण गराउनुभयो । ‘सुन त भेटिएर कहाँ गायब गरियो पत्ता लगाउन सकिएन तर सुन तस्करी गर्नेहरूलाई कारबाही गरियो, उनीहरू जेलमा छन्’ –उहाँले भन्नुभयो । सरकारको नेतृत्व गरेकै दलका नेताहरू कुनै गिरोहसँग लगातार संवाद २३४ पटकसम्म संवाद गर्ने तर त्यो पनि फेयर छ भनेर सरकारले बाहिर स्टन्ट गर्ने अनेकन भ्रमपूर्ण प्रचार गर्ने गरेको ओलीले आक्रोश पोख्नुभयो । संसद्को गरिमा राख्नुपर्नेमा अहिलेको दलीय गठबन्धन आएर प्रतिपक्षको आवाज राख्न नदिने र नेपालमा भ्रष्टतन्त्र कालाबजारीतन्त्र चलाइरहने योजनामा रहेको उहाँको आरोप छ । प्रधानमन्त्री यति अयोग्य, नालायक भएर बस्न अप्ठेरो मान्नुपर्ने तर्क गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्रीले राजनीनामा दिँदा बेस हुने बताउनुभयो । उहाँले गृहमन्त्री, अर्थमन्त्रीले राजनीनामा नदिएर सरकारमै रही रहनु आठौं आश्चर्य भएको टिप्पणी गर्नुभयो । मासको दाल फलामको कराइमा पकाएपछि कालो भएजस्तै अहिलेको सरकारका गतिविधि पनि कालो भएको उहाँको भनाइ छ ।

‘नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा’

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको दाबी गर्नुभएको छ । आइतबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको भन्दै सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गर्नुभयो ।

सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरू सरकारको कार्यशैलीप्रति सन्तुष्ट देखिएका छैनन् । बैठकमा डा. कोइरालाले १ हजार ४ सय टन सुन खपत हुने भारतमा ९ सय टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो– ‘१ हजार ४ सय टन सुन खपत हुने भारतमा ९ सय टन मात्र आयात कसरी हुन्छ ? यसले ४ सयदेखि ५ सय टन सुन नेपालबाट जाँदै छ भन्ने बुझ्न जरुरी छ । यसमा नेपालका कोको संलग्न छन् त्यो सरकारको खोजीको विषय हो ।’

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजस्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै डा. कोइरालाले त्यसपछिका घटनाहरू नियाल्न पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । नेता कोइरालाले यसअघि थप्नुभयो– ‘उहाँ (राजस्व अनुसन्धान विभाग प्रमुख) ले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुप¥यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ?’ यो विषयमा कांग्रेसले गम्भीरताका साथ लिनुपर्छ । नेपाललाई तस्करको अखडाबाट बन्द गर्न जरुरी छ ।’

सरकारले कांग्रेस सांसद सुनील शर्मालाई अपहरणको शैलीमा गिरफ्तार गरेको भन्दै प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गर्नु गलत भएको टिप्पणी गर्नुभयो । नेता कोइरालाले ल्यारक्याल लामाहरूको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरूले बुझ्नुपर्ने समेत बताउनुभयो । आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौं’ भनेको भन्दै उहाँले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा सरकारका समग्र गतिविधिका बारेमा सत्तारुढ दल कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्