बेपत्ता शिवकुमारको स्थिति पत्ता लगाउन नागरिक अगुवा र स्थानीय राजनीतिक दलको आग्रह



धादिङ । 

बेनिघाटरोराङ गाउँपालिका–५ का ४० वर्षीय शिवकुमार कार्की २०८० असार ३१ गतेदेखि बेपत्ता भएको उनकोस्थिति पत्ता लगाउन माग गर्दै स्थानीय राजनीतिक दल र नागरिक अगुवाहरूले माग गरेका छन् ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ स्थित चरौँदी नजिक रहेको हुक्काबारमा बियर खाजा खाएपछि सम्पर्कमा नरहेका कार्कीको एक महिना हुँदा समेत पत्तो नलागेपछि आइतबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्र लगायतलाई भेटी प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको हो ।

शिवकुमारकी पत्नी नानी मैयाँ श्रेष्ठ  कार्कीले साउन ४ गते बेपत्ताको खोजी गरिदिन इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएकी थिइन् । घटना खोजी हुँदै जाँदा प्रहरीले अनुसन्धानको क्रममा पछिल्लो फोन कल गर्ने हुक्काबार सँगै रहेकी कुमारी तिवारीलाई ५ गते ६ गते  गिरफ्तार गर्‍यो । प्रहरीले अनुसन्धान गर्दा १० दिनको बिचमा ती महिलासँग ७२ पटक फोन कल भएको भेटायो । सुरुमा महिलालाई घर पठाएकोमा असार ७ गते महिला हात बाँधिएको अवस्थामा फेला परेपछि अनुसन्धान नयाँ तरिकाबाट भइरहेको छ ।

पछि महिलासँग प्रहरीले बुझ्दा पटक पटक फरक फरक बयान दिने गरिन् । सुरुमा शिवकुमारलाई मारेर नदीमा फालिदिएको बताइन । पछि खाडल खनेर राखेको बताइन् । हात बाँधेको मानिस नचिनेको बताइन् तर पछि आफैँले हात बाँधेको बताइन् ।

बेनिघाट बजार बासी र आफन्तले हराएका शिवकुमारको खोजी गर्न र हत्या  भएको भए तत्काल कारबाही गर्न माग गर्दै साउन एक हप्तासम्म (साउन १९ गतेदेखि) बजारमा प्रदर्शन गरे ।

घटना खोजी भइरहेको, प्रहरीले गोताखोर टोली परिचालन गरी त्रिशूली नदीमा खोजेको र तालिम प्राप्त कुकुर परिचालन गरी खोजेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । खोजी भइरहेपनि शिवकुमारबारे कुनै जानकारी हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय गजुरी घटना अनुसन्धान गरिरहेको भएपनि उसले आरोपितहरू पत्ता लगाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले साउन १७ गते सो मुद्दा जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि बेनिघाटरोराङ गाउँ पालिका–५ का ४० वर्षीय कुमारी तिवारी र हराएको दिन संगै घुमेका ३५ वर्षीय इन्द्र कँडेललाई हिरासतमा राखेको छ । पीडित परिवारले किटानी जाहेरी दिन खोज्दा प्रहरीले पछि लिगुमला भनेर लिएको छैन ।थुनेर राखिएका दुई जनालाई अभद्र व्यवहार अन्तरगत मुद्दा चलाएर राखेको बताइएको छ ।

नागरिक अगुवाहरू ईन्सेक प्रतिनिधि सीताराम अधिकारी, गैसस महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष दामोदर अर्याल, महिला मानव अधिकार रक्षक राधिका सापकोटा, नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नवराज छत्कुली, पत्रकार शिव सिलवाल, पोषनाथ अधिकारी लगायतले बेपत्ताको अवस्था पत्ता लगाउन आग्रह गरेको थियो ।

बेनिघाटरोराङ गाउँपालिकामा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपा, नेकपा एस र शिवकाे संघर्ष समितिले संयुक्त रूपमा आइतबार प्रेस विज्ञप्ति प्रकाशन गरी बेपत्ताको स्थिति पत्ता लगाउन र कुनै घटना भएको भए दोषीमाथि कारबाही गर्न माग गरेको छ । नागरिक अगुवा तथा सञ्चारक्रमीहरुले साउन २७ गते बेनिघाटमा पुगेर पीडित परिसार, बजार बासी र गाउँपालिका प्रमुख विवेक थपलियासँग भेटेर जननकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्