रिहापछि सुनिल शर्माले भने- कांग्रेसले सत्ता सहकार्य तोड्नुपर्छ



काठमाडौँ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा बिहीबार केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो । न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन् । जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन् ।

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका अन्यलाई भने ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

थुनामुक्त भएपछि शर्माले एमाले अध्यक्ष केपी ओलीको प्रसंशा गरेका छन् । रिहा भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले केपी ओली ‘राष्ट्रिय पिता’ भएको बताए । उनले भने, ‘जे भएपनि केपी ओली राष्ट्रिपिता हुन् ।’ उनले शेखर कोइराला, गगन थापालगायतको पनि प्रसंशा गरे ।

सांसद शर्माले प्रधानमन्त्री प्रचण्डकै आदेशमा आफूलाई सीआईबीले पक्राउ गरेको समेत दावी गरे । उनले भने, ‘मलाई प्रधानमन्त्री प्रचण्डको आदेशमा पक्राउ गरिएको हो । गृहमन्त्रीको के कुरा गर्ने ?’

उनले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने बताउँदै सत्ता सहकार्य तोड्नुपर्ने बताए।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी पनि दिए ।

सांसद शर्माले प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे । उनले भने, ‘यिनीहरुले नेतालाई एकएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पु¥याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो । तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्